खेलकुद

चितवनमा मंसिर ५ देखि ‘जेसीज कप राष्ट्रिय महिला फुटबल’ हुँदै

Banner

चितवन, कात्तिक २२–

चितवनमा मंसिर ५ गतेदेखि ‘जेसीज कप राष्ट्रिय महिला फुटबल’ प्रतियोगिता हुने भएको छ । नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

मसिर ५ देखि सुरु हुने प्रतियोगिता ९ गतेसम्म चल्नेछ । प्रतियोगितामा देशभरका ८ टोली सहभागी हुने नारायणगढ लेडी जेसीजकी अध्यक्ष सुस्मिता श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा चितवन ११, अभिषेक चर्च रजहर, गैंडाकोट खेलकुद बिकास समिति, बागमती गाउँपालिका मकवानपुर, रौतहट महिला फुटबल एकेडेमी, गोकर्णेश्वर नगरपालिका काठमाडौं, अल स्टार्स स्पोर्टस एकेडेमी धनगढी र बागमती युवा क्लब सर्लाही सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल प्रहरी शिक्षालयको मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । दर्शकका लागि सेमिफाइनलसम्मलाई ५० तथा फाइनलका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

खेलकुदको माध्यमबाट महिला शशक्तिकरणका लागि प्रतियोगिता आयोजना गरिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष श्रेष्ठको भनाइ छ । यसले सुस्त रहेको घरेलु फुटबललाई चलायमान बनाउन मद्त मिल्ने उहाँको विश्वास छ ।

२०७८ सालमा चितवनमा राष्ट्रिय महिला लिग भएयता महिला फुटबल प्रतियोगिता भएका छैनन् । शून्य अवस्थामा रहेको महिला फुटबललाई गतिशिल बनाउन प्रतियोगिता आयोजना गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए। सहभागी क्लबहरुमा राष्ट्रियस्तरका खेलाडीहरु पनि रहनेछन् । महिला फुटबलको उर्भर भूमि रौतहट र धनगढीमा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>