राजनीति
रिगल प्रकरणमा सर्वोच्चको आदेशको गगन थापाद्वारा स्वागत

काठमाडौं,कात्तिक १६-
कांग्रेस महामन्त्री गगन थापाले रिगल प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशको स्वागत गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य छ । मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको छ । यस्तो अवस्था आएको पहिलो पटक होइन। कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन् ।’
आममाफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गएपछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिन नहुने थापाको भनाइ छ । उनले भनेका छन्, ‘यस सम्बन्धमा जेजसरी आममाफी दिने गरिएको छ । त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ । यसमा मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्नेछ ।’
उनले अगाडि भनेका छन्, ‘अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ ।’



























