देश/प्रदेश

हल गोरु पाल्ने तनहुँका किसानलाई पोषण अनुदान

Banner

तनहुँ, कात्तिक ३-

तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।

पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही रू चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडाका गरी तीन सय ६७ कृषकलाई रू १४ लाख ६८ हजार रकम वितरण गरिएको छ ।

वडा नं १ का एक सय चारलाई रू चार लाख १६ हजार, वडा नं २ का २९ लाई रू एक लाख १६ हजार, ३ का नौ जनालाई रू ३६ हजार, ४ का ४२ लाई रू एक लाख ६८ हजार, ५ का ५३ जनालाई रू दुई लाख १२ हजार, ६ नं वडाका ७१ लाई रू दुई लाख ८४ हजार र ७ नंका ५९ लाई रू दुई लाख ३६ हजार वितरण गरिएको शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडाबाट प्राप्त विवरणको आधारमा वडागतरूपमा लाभान्वित हुने कृषकका लागि दसैँमा रकम प्रदान गर्ने योजनाबमोजिम उक्त रकम वितरण गरिएको हो ।”

उक्त कार्यक्रम सञ्चालन गरिएपछि यसतर्फ किसानको आकर्षण बढेको शाहको भनाइ थियो । गत आवमा गाउँपालिकाले यही कार्यक्रमबापत रू १० लाख वितरण गरेको थियो । त्यतिबेला हल गोरु पाल्ने किसानको सङ्ख्या दुई सय ५० थियो । उहाँका अनुसार यो आवमा एक सय १७ किसान बढेका छन् ।

पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि पालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको उहाँको भनाइ थियो ।

“गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिनका लागि पनि यो कार्यक्रम ल्याइएको हो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “प्रोत्साहन रकमले गोरु पाल्ने किसान अझै बढ्ने विश्वास गरेका छौँ । गोरु पाल्ने क्रम बढ्दा खेतबारी बाँझो रहँदैन ।” गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरुको प्रोत्साहनका लागि उपलब्ध गराइएको रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई आग्रह गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>