घटना -दुर्घटना
प्रचण्डलाई विपिनका परिवारको अपिल- हमास समूहको कब्जाबाट मुक्त गर्न पहल होस्

कैलाली,असोज ३०-
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका एक नेपालीको अवस्था अझै अज्ञात रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का विपिन जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् ।
उनका परिवारका सदस्यहरूको विपिनलाई हमास समूहले अपहरण गरेको भन्दै रिहाको पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अपिल गरेका छन् । गौरीगङ्गा नगरको नवनिर्मित भवनको उद्घाटन गर्न चौमाला पुगेका प्रधानमन्त्रीलाई परिवारका सदस्यहरूले ज्ञापन पत्र दिएका थिए ।
ज्ञापन पत्रमा विपिनलाई हमास समूहले ३्४ जना थाई नागरिकसँगै अपहरण गरेको भन्ने बुझिएकोले उनको रिहाइको लागि पहल गर्न अपिल गरिएको छ । विपिनमा बुबा महानन्द जोशी, आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्डले बुझेका थिए ।
गत शनिबार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । हमासले पहिलो पटक आक्रमण गर्दा विपिनले नै ग्रिनेड फिर्ता पठाएका थिए । त्यसपछि दोस्रो पटकको आक्रमणमा परी नेपाली विद्यार्थीहरूको ज्यान गएको थियो ।

























