राजनीति

इजरायलबाट शीघ्र नेपालीको उद्धार गर्न सांसदको माग

Banner

काठमाडौँ, असोज २५-

प्रतिनिधिसभाको आजको बैठकमा इजरायलमा रहेका नेपालीको उद्धार र चाडबाडको समयमा आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

इजरायलमा गत शनिबार भएको आतंवादी आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव स्वदेश फर्काउन तथा उद्धारमा ढिलाइ गरिएको विषय संसदमा उठेको हो । दसैँ, तिहारलगायत चाडबाडको बेला दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा यातायात सेवाको प्रत्याभूति गर्नुपर्ने उहाँहरुले बताउनुभएको छ ।

आजको बैठकको विशेष समयमा बोल्दै सांसद अर्जुन नरसिंह केसीले पछिल्लो समय धार्मिक सहिष्णुता र जातीय एकतामा विचलन आउन थालेको बताउनुभयो । यस्तो विचलनले सरकार नै सङ्कटमा जाने उहाँको भनाइ थियो । सांसद केसीले इजरायलमा नेपालीको अवस्थाबारे जानकारी लिन र आक्रमणमा परेर मृत्यु भएकाको शव फिर्ता ल्याउने प्रक्रिया थाल्न माग गर्नुभयो । साथै घाइतेहरुको उपचारको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद सूर्य थापाले सुदूरपश्चिम क्षेत्रको नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीले भ्रमण गरेको विषयमा सरकारले संसद्मा जवाफ दिनुपर्ने बताउनुभयो । इजरायलबाट नेपाली नागरिकको उद्धारमा ढिलाइ भएको उहाँको भनाइ थियो । आन्दोलनरत स्थानीय तहका कर्मचारीको जायज माग सम्बोधन गर्न उहाँले संसदमार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद वर्षमान पुनले इजरायलमा रहेका नेपालीको उद्धार अहिले सरकारको पहिलो जिम्मेवारी भएको बताउनुभयो । इजरायलमा रहेका र स्वदेश फर्किन चाहने नागरिकलाई तत्काल स्वदेश फिर्ताको प्रक्रिया थालेकामा उहाँले सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

दैनिक उपभोग्य वस्तु सहज रुपमा उपलब्ध हुने गरी आपूर्ति व्यवस्था सहज बनाउनुपर्नेमा सांसद पुनले जोड दिनुभयो । नेपालले वैदेशिक व्यापार गर्ने केही मुलुकसँग दोहोरो करमुक्ति सम्झौता गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद मनिष झाले संसदको प्रभावकारितामाथि प्रश्न उठाउनुभयो । संसदमा उठाइएका विषयको सुनुवाइ नभएको भन्दै उहाँले भन्नुभयो, “हामी संसदमा नयाँ छौंँ । तर पुराना दलले हामीलाई सिकाइ दिनुपर्यो कि संसदमा उठाइएका विषयमा सुनुवाइ कसरी हुन्छ? सुनुवाइ कसरी हुन्छ रु हामी सिक्न चाहन्छौँ ।”

लामो समयदेखि न्यायका लागि माइतीघरमा बसेकाहरु असुरक्षित भएको सांसद झाको भनाइ थियो । विपद्को घडीमा कोही सत्तापक्ष र प्रतिपक्ष नहुने बताउनुहुँदै उहाँले बझाङमा गएको भूकम्पबाट पीडित नागरिकले अझै राहत र पुनःस्थापनाको सुविधा पाउन नसकेको बताउनुभयो ।

सांसद ज्ञानबहादुर शाहीले पछिल्ला वर्षमा विदेश जाने नेपालीको सङ्ख्या बढेको मात्र नभइ विदेशबाट शव फर्किने सङ्ख्या पनि बढिरहेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पछिल्लो आधा दशकमा सार्वजनिक ऋण दोब्बरले बढेको भन्दै नेपालबाट वार्षिक रुपमा विदेशिने नागरिकको सङ्ख्या झन तेब्बरले बढेको बताउनुभयो । सांसद शाहीले नेपाल वायुसेवा निगमको व्यवसाय विस्तारका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसद प्रदीप यादवले हाल बन्द रहेका उद्योगधन्दा सञ्चालनमा ल्याउनका माग गर्दै लामो समय बन्द रहेका कृषि औँजार कारखाना सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।

सांसद राजेन्द्र पाण्डेले दसैंँ, तिहारलगायत चाडबाडको समयमा यातायात व्यवस्था सहज बनाइनुपर्ने, अनियन्त्रित बनेको उपभोक्ता बजारलाई अनुगमन बढाउनुपर्नेलगायत माग गर्नुभयो । टिकट समयमा नपाउने, महँगो मूल्य तिर्नुपर्ने, दैनिक उपभोग्य वस्तु अभावलगायत समस्या समाधानका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

भारतबाट प्रत्येकवर्ष नेपाल फर्किने नागरिकलाई सीमावर्ती क्षेत्रमा परीक्षणचका नाममा समस्या भोग्नु परेको उल्लेख गर्नुहुँदै सांसद पाण्डेले सहज आवागमनका लागि छिमेकी मुलुक भारतसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानीका लागि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने ब्याजदर र विभिन्न नाममा लिने सेवा शूल्यका विषय सांसद प्रभु साहले संसदमा उठाउनुभयो । आम नागरिकले बैंकबाट सहज रुपमा कर्जा पाउन नसकेको उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>