राजनीति
इजरायलमा रहेका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याइयोस्: कांग्रेस

काठमाडौं, असोज २३-
सत्तारूढ नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलको मंगलबारको बैठकले इजरायलमा हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेको छ।
‘हमासको आक्रमणमा परी घाइते भई उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको नेपाल सरकारले सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरिर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन, सम्पर्कमा नरहेका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न र इजरायलमा भएका नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्न कांग्रेसले आग्रह गरेको हो।



























