राजनीति
मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छः योगेश भट्टराई

जनकपुरधाम, असोज २३-
नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् ।
मधेश प्रदेश अधिवेशनका लागि आज जनकपुरधाम पुगेका भट्टराईले पत्रकार सम्मेलनमा बोल्दै मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका हुन् ।
उनले सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा धेरै मधेश प्रदेशमा भएको बताउँदै एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय भएको बताए । एमाले अब त्यही लक्ष्यका साथ क्रियाशील हुने उनले बताए ।
‘मधेशको अहिलेको मुख्य कार्यभार सुशासन र सामाजिक न्याय हो,’ भट्टराईले भने, ‘त्यसको निम्ति मधेशको स्वाभिमानलाई सगरमाथाको शीरमा उठाउनु छ अनि मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ ।’
उनले थपे, ‘एमालेको मुख्यमन्त्री चाहिन्छ, १३६ वटा पालिकामा एमालेको प्रमुख चाहिन्छ, प्रधानमन्त्री एमालेको चाहिन्छ । अब मधेश प्रदेशको अधिवेशनको ध्यान त्यता जान्छ ।’ आगामी चुनावमा अहिलेको एमालेको तागतलाई बढाउन चाहेको भन्दै उनले त्यही मिसनका साथ अगाडि बढ्ने बताए ।



























