Breaking News
लुम्बिनी र पोखरा विमानस्थल सञ्चालनमा नआई ब्याज तिर्ने समय आइसक्योः अर्थमन्त्री महत

जनकपुरधाम, असोज १३
अर्थमन्त्री डा. प्रकाशशरण महतले सञ्चालन नै नभएको लुम्बिनी र पोखरा विमानस्थलको सावा र ऋण तिर्ने समय आएको बताएका छन् ।
शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औँ साधारणसभामा मन्त्री महतले हामीले लुम्बिनी र पोखरामा एयरपोर्ट बनाए पनि त्यो नचले पनि पैसा तिर्ने बेला आइसकेको बताएका हुन् ।
अर्थमन्त्री डा. महतले सरकारसँग आएको राजश्व फिक्स दायित्वमा खर्च हुने गरेको बताएका छन् । उनले भने, ‘हाम्रो केही फिक्स दायित्व छ त्यसबाट भाग्न सकिँदैन । कर्मचारी, प्रहरी प्रशासनको तलबभत्ताबाट भाग्न सक्दैनौँ । सामाजिक सुरक्षा भत्ता, त्यस्तै अरु दायित्व छन् । हामीले विभिन्न आन्तरिक र बाह्य ऋण लिन्छौँ, त्यसको हरेक वर्ष सावाँ र ब्याज तिर्नुपर्छ ।’
केही फिक्स दायित्व रहेका कारण विकास निर्माणको काम गर्नमा कठिनाइ भइरहेको बताएका छन् । अर्थमन्त्री डा. महतले अहिले रहेको ३ सय ७ खर्ब ऋणको सावाँ ब्याज, सामाजिक सुरक्षा खर्च अर्बौँमा रहेको, तलबभत्तामा खर्च भइरहेको भन्दै विकास निर्माणमा लगानी गर्नुपर्ने क्षमता कम रहेको बताए । उनले आवश्यकता धेरै रहेको तर आम्दानी कम रहेको जिकिर गरे ।
उनले कोभिड–१९, चुनावलगायत विभिन्न कारण विदेशी लगानी तथा सहयोग घटेको भन्दै उनले यो समस्या विस्तारै समाधान हुने बताए । अर्थमन्त्री डा. महतले अहिले देशमा रेमिट्यान्स आउने क्रम बढेको भन्दै बजारमा रहेको हल्लाका कारण त्यो रकम समेत खर्च हुन नसकिरहेको बताए ।
























