नवलपुर

नारायणगढ–बुटवल सडकको दूरावस्थाले व्यवसाय धराशायी भयो: पर्यटन व्यवसायी

Banner

गैँडाकोट, असोज १०-

बिस्तार सुरु भएको पाँच वर्ष बित्दासमेत पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम पूरा नहुँदा व्यवसाय धराशायी बनेको यहाँका पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा बुधबार आयोजित कार्यक्रममा व्यवसायीहरुले सडकका कारण जिल्लाका होटल व्यवसायमा पर्यटकको आगमन न्यून हुँदा व्यवसाय धराशायी बनेको बताएका हुन् ।

भत्किएको सडकमा गाडी गुड्दा उड्ने धूलो र धुवाँका यात्रा गर्न सकस हुँदा जिल्लाका होटलमा पाहुना नआउने अवस्था सिर्जना भएको नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाले बताए । ‘नारायणगढबाट बुटवलको दूरी एक सय १४ किलोमिटर छ’ उनले भने, ‘यो सडकमा राम्रो सडक कहीँ पनि भेटिँदैन, सडकमा यात्रा गर्दा धूलो खानुपर्छ भनेर जिल्लामा पर्यटकनै आउँदैनन् ।’ नवलपुरमा धेरै पर्यटकीय स्थल तथा भौगोलिक विविधता भए पनि सडकका कारण पर्यटक आउन नचाहेका उनको भनाइ छ ।

‘सडक विस्तारको काम सुरु भएको पाँच वर्ष बितिसक्यो, अहिलेसम्म आधा काम पनि सकिएको छैन’ उनले भने, ‘सडकको अवस्था यस्तै रह्यो भने अब हामी व्यवसायीहरु डाडु र पन्यु बोकेर सडकमा आउनुपर्ने स्थिति सिर्जना भएको छ ।’ सडककै कारण व्यवसाय सञ्चालन नहुँदा व्यवसायमा राखिएका कर्मचारी कटौती गर्नुपर्ने अवस्थामा धेरै होटलहरु पुगिसकेका उनले बताए । ‘व्यवसायीहरुले खाना भन्दा पनि यहाँको पर्यटकीय क्षेत्र, स्थानीय कला र संस्कृति देखाएर आम्दानी गर्नुपर्ने अवस्थामा जिल्लामा पर्यटक नै आउँदैनन्’ उनले भने, ‘विदेशी पर्यटक त बाटोका कारण आउँदैनन् अब त आन्तरिक पर्यटक पनि आउन कम हुँदै गइरहेको छ ।’

विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन व्यवसाय भए पनि सडकका कारण आफूहरुले दुःख पाएको मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घका अध्यक्ष देवीप्रसाद पौडेलले बताए । ‘सडकको कारण समस्या झेलिरहेका नवलपुरका व्यवसायीलाई पटक–पटक बत्ती जाने समस्याले थप समस्यामा पारेको छ’ उनले भने, ‘सूचनाबिनै दिनमा १०–१२ पटक बत्ती जाँदा व्यवसायीहरुको फ्रिज, पङ्खालगायतका विद्युतीय उपकरणहरु बिग्रिएका छन् ।’ सरकारले व्यवसायीमाथि कर वृद्धि गर्दै जाने तर उनीहरुको गुनासोबारे केही पनि सम्बोधन नहुने गरेको पौडेलले गुनासो गरे ।

कार्यक्रममा होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले नवलपुरमा देवघाटधाम, मौलाकालिका, शाश्वत धाम, दाउन्नेदेवीलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि सडकका कारण पर्यटकलाई समस्या भएको बताए । ‘भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष–२०२४ को आयोजना गरेको सन्दर्भमा नवलपुरका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुलाई समेत जोडेर लैजाने हाम्रो तयारी छ’ उनले भने, ‘यद्यपि सडकको दुरावस्थाका कारण कसरी नवलपुरको पर्यटकीय क्षेत्रलाई जोडेर अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको छ ।’ विदेशिने युवाहरुको सङ्ख्या बढ्दै गरेको अवस्थामा सरकारले ठोस योजना ल्याएर युवाहरुलाई स्वेदशमा नै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने चुकेले बताए ।

मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघको साधारणसभाका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सडकको समस्या चाँडो समाधानका लागि सरोकारवालासँग छलफल गरिरहेको बताए । ‘सडकको कारण होटलमात्रै नभएर धेरै पेसा र व्यवसायमा समस्या परेको हामीले महसुस गरेका छौँ” अधिकारीले भने, ‘सडक विस्तारको काम चाँडो सक्नेबारेमा हामीले एसियाली विकास बैंकका प्रतिनिधि, सडक आयोजनाको कन्सल्टेन्ट तथा निर्माण व्यवसायीसँग छलफल गरिरहेका छौँ ।’ निर्माण व्यवसायीले ग्राबेल अभावका कारण सडक निर्माणमा ढिलाइ भएको बताएपछि नगरपालिकाले ग्राबेल उपलब्ध गराएको उनको भनाइ छ ।

‘गतवर्ष गैँडाकोट नगरपालिकाले सडक विस्तारका लागि एक लाख ६२ हजार घनमिटर ग्राबेल उपलब्ध गराएको थियो’ उनले भने, ‘त्यसबेला सडक विस्तारको कामले तीव्रता लिएको थियो । अहिले फेरि सडक विस्तारको काम सुस्त गतिमा अघि बढेको छ ।’ विस्तारको क्रममा रहेको सडक चाँडो निर्माण सम्पन्न गराउनका लागि आफूहरुले माथिल्ला सरकारसँग समेत पटकपटक छलफल र कुराकानी गरिरहेको उनको भनाइ छ ।

मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभाका क्रममा होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशकी उपाध्यक्ष तुलसी ज्ञवाली, मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष शिव पाण्डे, निवर्तमान अध्यक्ष हरि क्षेत्री, वरिष्ठ उपाध्यक्ष शिव पौडेल, व्यवसायी अमित अग्रवाललगायतले मन्तव्य राखेका थिए । फरक क्षमता भएर पनि होटल व्यवसाय सञ्चालन गर्दै आएका होटल व्यवसायी टोलबहादुर आलेलाई कार्यक्रममा नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो भने संघलाई सहयोग गर्ने विभिन्न सङ्घ–संस्थालाई कदरपत्रसहित सम्मान गरिएको सङ्घका सचिव कमल पण्डितले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>