खेलकुद
बागमती प्रदेश क्रिकेट संघको चुनाव आज, पारसलाई चार जिल्लाको समर्थन

काठमाडौं, भदौ १५-
बागमती प्रदेश क्रिकेट संघको चुनाव आज हुँदैछ । ललितपुरमा हुने चुनावमा ३७ मतदाताले १३ सदस्यीय कार्यसमिति चयन गर्ने छन् । ६ वटा जिल्लाका चार-चार प्रतिनिधि र पुरानो कार्यसमितिका १३ पदाधिकारी गरी ३७ जनाले नयाँ कार्यसमितका लागि मतदान गर्नेछन् ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनलाई चार जिल्लाको समर्थन छ । भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुरले उनलाई समर्थन जनाएका हुन् । पारस यसअघि काठमाडौं जिल्ला कार्यसमितिमा सर्वसम्मत सदस्य निर्वाचित भएर प्रदेशका लागि प्रतिनिधि चयन भएका थिए ।
यता प्रदेश अध्यक्षमा उमेश पियाले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनी चितवन जिल्ला संघमा पदाधिकारी निर्वाचित भएका थिए । यता नुवाकोट जिल्ला संघका एक प्रतिनिधले पारस समूहले प्रदेशमा गुटबन्दी गरेको आरोप लगाए ।
‘प्रदेशमा रहेका सबै ६ जिल्लालाई हेर्नेगरी समिति बन्ने हो । जबकी चितवन सबैभन्दा बढी सक्रिय जिल्ला हो । तर, अब यसरी जाउँ भनेर पारस समूहबाट कुनै कुरा आएको छैन । चार जिल्लाको मात्र भए पुग्छ जसरी उहाँहरु गतिविधी गरिरहनु भएको छ,’ ती प्रतिनिधिले भने ।
अध्यक्षमा यदि द्वीपक्षीय प्रतिस्पर्धा भयो भने चुनाव जित्न १९ भोट चाहिन्छ । पारसले पुरानो कार्यसमितिबाट ३ भोट मात्र तान्दा चुनाव जित्न सक्छन् ।



























