राजनीति
बजेटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराहीका वडाध्यक्ष एक महिनापछि काममा फर्किए
०

दाङ, साउन १८-
बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका छन् ।
गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडाध्यक्ष शाह एक महिना पछि पुनः काममा फर्किएका हुन् । उनले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू काममा फर्किएकोबारे जानकारी गराएका हुन् ।
एमालेबाट निर्वाचित शाहले आफ्नो वडामा परेको बजेटप्रति मेयरसँग असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले आफूले मागेका योजनामा बजेट नदिएको भन्दै उनले असार १२ गतेको नगरसभाका क्रममा राजीनामा बुझाएका थिए ।
राजीनामा पत्रमा उनले वडावासीको चाहना अनुसार काम गर्न नसकेकाले आत्मग्लानि भएको उल्लेख गरेका थिए ।