राजनीति
रास्वपाले चितवनमा ‘ब्लू बस’ चलाएर सस्तो राजनीति गर्न खोज्यो: शंकर पोखरेल

काठमाडौं, साउन १८-
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि निस्शुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि निस्शुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका हुन् । उनले यो कुराले हामी कता जान खोज्दैछौं भन्ने प्रश्न उब्जिएको उल्लेख गरेका छन्।
उनको भनाई जस्ताको तेस्तैः
सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनवाट दिन खोजिएको सन्देश
दुनियाका धेरै मुलुकहरुमा महिलाहरु वन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवाद वाहेक महिलाहरु सुरुदेखिनै तुलनात्मक हिसावले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरुसंग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका वेला ठुलोसंख्यमा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् ।
यस्तो अवस्थामा आफुलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान्? जिज्ञासा उठ्नु स्वभावकि हो ।
नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।
पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साईकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको थिए ।
तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ ।
नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ ।
तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ ।
चितवन जस्तो सचेत ठाउवाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौ ।



























