राजनीति
कोशीमा राप्रपालाई फकाएर १० दिनभित्रै विश्वासको मत लिने गठबन्धनको तयारी

काठमाण्डौ, साउन १७-
कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले डेढ हप्ताभित्र विश्वासको मत लिने भएका छन्। मंगलबार गठबन्धनका तीन दल र बहुमत ४७ सांसदको समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएका थापाले छिटो विश्वासको मत लिने रणनीति बनाएका हुन्।
‘जतिसक्दो चाँडो विश्वासको मत लिने समझदारी बनाएका छौँ,’ माओवादी दलका नेता इन्द्र आङ्बोले भने, ‘भोलिदेखी वार्ता र संवाद सुरु गर्नेछौं।’ गठबन्धनले ढुक्क हुन राप्रपाको सहयोग पाउने अपेक्षा गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच यसबारे छलफल भएको थियो। लिङ्देनले राप्रपा कुनै सरकारमा सहभागी नहुने र तठस्थ बस्ने जवाफ दिएका छन्।
‘सकेसम्म सरकारमा सामेल गराउने कोसिस हुन्छ,’ आङ्बोले थपे, ‘संसदीय समिती सभापतीको जिम्मेवारी दिन पनि तयार छौँ, अझ सभामुख नै दिन पनि सकिन्छ।’
सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर गठबन्धनले कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सफल भएपनि यसको खतरा भने अझै टरेको छैन।



























