राजनीति

सेटिङमा बेल्जियन नागरिक दावाको नेपाली नागरिकता, छैन कुनै रेकर्ड

Banner

काभ्रे,साउन १७-

एक क्वीन्टल सुन प्रकरणमा साउन १४ गते पक्राउ परे चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङ लामा। उनले काभ्रेबाट नेपाली नागरिकता प्रमाणपत्र लिएको पुष्टि भएको छ। तर, अचम्मलाग्दो के छ भने, उनले नागरिकता लिँदा पेश गरेका कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालय काभ्रेमा छैनन्। त्यति मात्र होइन, उनलाई नागरिकता दिने अधिकृतको हस्ताक्षरसमेत सरकारी रेकर्डमा छैन। त्यसैकारण दावाले ‘ठूलै सेटिङ’ गरेर नागरिकता लिएको सरकारी अधिकारीहरू बताउँछन्।

दावाले २०७४ साल पुस २० गते जिप्रका काभ्रेबाट नेपाली नागरिकता लिए। उनले ‘निमा तामाङ’ को नामबाट नागरिकता लिएका थिए, त्यो पनि वंशजका आधारमा। जिप्रका काभ्रेकाअनुसार उनको नागरिकता प्रमाणपत्र नम्वर ३०–०१–७४–११८६८ हो। नमोबुद्ध नगरपालिका वडा नम्बर ११ उनको स्थायी ठेगाना राखिएको छ। बुवाको नाम पेमा तामाङ राखेर सनाखत गरिएको जिप्रकाको डाटामा देखिन्छ। तर, त्यसबेला पेश गरिएका अन्य कुनै पनि कागजात भने छैनन्।

उनले नागरिकता लिएका दिनको अनुसुचि भरेको फारम जिल्ला प्रशासन कार्यालयमा नभएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए। यस्तै, दावाका बुवा भनिएका पेमा लामा को हुन् भन्ने बारे पनि जिप्रकामा कुनै अभिलेख छैन।

दावाले नागरिकता लिएको दिन (पुस २० गते) ४१ जनाले नागरिकता लिएको जिप्रका काभ्रेको रेकर्ड (ढड्डा) मा छ। त्यस दिन ११८३० देखि ११८७१ नम्बर सम्ममा नागरिकता बाँडिएका थिए। त्यस दिन दावा अर्थात निमा लामाले ३८औं नम्बरमा नागरिकता लिएको देखिन्छ।

रोचक कुरा के छ भने, त्यस दिन ११८३० देखि ११८६० नम्बरका सबै नागरिकतामा एकै अधिकृतले सनाखत गरेका छन्। तर, ११८६१ देखि ११८७१ सम्म अर्कै अधिकृतले सनाखत गरिएको देखिन्छ। तर, दावाको नागरिकतामा कुन अधिकृतले सनाखत गरेका थिए भन्ने रेकर्डमा छैन। पुस १९ गते र पुस २१ गते भने नागरिकता वितरण डाटा (ढड्डा) मा सिताराम थापा नामका अधिकृतले नागरिकता वितरणमा सनाखत गरेको जिप्रकाको रेकर्डमा छ।

दावाको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्र खरेलले हस्ताक्षर गरेको तथ्य भेटिएको छ। तर, जिप्रकाको ढड्डामा खरेलको नाम छैन। खरेल त्यतिबेला बनखुचौर महाभारत गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालयमा सरुवा भएर काभ्रेमा आएका थिए। तर, उनले त्यहाँ आवश्यक पूर्वाधार नभएको भन्दै तीन महिना जिप्रकामा बसेका थिए। तीन महिना बसे पनि त्यतिबेला उनको हाजिरी भने जिप्रकामा छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>