देश/प्रदेश
कार्यालय खाली गर्न असोजमा माइकिङ गरेकोले राप्रपाले ३५ दिनको समय माग्दा महानगरले नदिने

काठमाडौं, साउन १५-
काठमाडौं महानगरपालिकासँग राष्ट्रिय प्रजातन्त्र पार्टीले ३५ दिन समय माग गरेको छ । पार्टीले आफ्नो केन्द्रीय कार्यालय खाली गराउन महानगरसँग ३५ दिन समय माग गरेको हो ।
आज ३५ दिन समय माग गर्दै राप्रपाका केही नेताहरुले महानगर पुगेर प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारीलाई पत्र बुझाएका हुन् ।
राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले भने, ‘हामीले भवन खाली नगर्ने भनेका छैनौं । तर, कानूनअनुसार सूचना जारी गरेको मितिले ३५ दिन समय चाहिन्छ भन्ने हाम्रो माग हो ।’
महानगरका प्रमुख कार्यकारी अधिकृत बसन्त अधिकारी भने थप ३५ दिन समय उपलब्ध गराउन नसकिने बताउँछन् । उनले भने, ‘गत वर्षको असोजमा नै महानगरले माइकिङ गरेको थियो । त्यो बेलामा पनि यही कुरा भन्नुभएको थियो । पछिल्लो समय गोरखापत्रमा तीन महिना अगाडिपनि सूचना सार्वजनिक गरिएको थियो । तर, राप्रपाले त्यसलाई गम्भीरतापूर्वक लिएन । अहिले पनि सामान सार्न एक हप्ता/दश दिन समय माग्नु हुन्छ भने सोच्न सकिन्छ भनेका छौं । तर, ३५ दिनभने समय उपलब्ध गराउन सकिदैन ।’
त्यस्तै ‘पब्लिकले हाइटेन्सनमुनि घर बनाउनै नपाउने, तर राजनीतिक दलले छुट पाउने कुरा कुनै पनि लजिकले मिल्दैन । नक्सापास बिना त्यहाँ घर बनाउन पाउने कुनै आधार नै छैन । विद्युत प्राधिकरणले त यो घर एक सेकेन्ड पनि रहन दिनुहुँदैन भनेको छ । पानी परेको बेला मान्छे छतमा गएको बेला मर्ने सम्भावना हुँदो रहेछ,’ उनले भने ।



























