देश/प्रदेश
पुरानो फोटो सार्वजनिक गर्दै सुन प्रकरणमा पक्राउ परेका छिरिङसँग मेरो नाम जोडेर चरित्र हत्या गरियोः वर्षमान पुन

काठमाडौं, साउन १५-
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करीको विषयमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको पनि उनले प्रष्ट्याएका छन्।
आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एक पटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिएका छन्।
‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।’
पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गरे।



























