राजनीति
सबैतिर सत्ताको सहकार्य गर्न लिङ्देनलाई देउवा-प्रचण्डको प्रस्ताव

काठमाडौं साउन १४-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । कोशीमा मात्रै होइन, सबैतिर सहकार्य गर्न लिङ्देनलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव थियो ।
संघीय सरकारमा तत्काल आउनेगरी सोच्न प्रधानमन्त्री प्रचण्डले लिङ्देनको प्रस्ताव गरेका थिए । तर अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको प्रस्तावबारे सकारात्मक जवाफ दिएनन् । गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन राप्रपाले समर्थन गरेको थियो । तर त्यसबेला नेकपा एमालेसहित सात दलसँग प्रधानमन्त्री बनेका प्रचण्डले गठबन्धन बदलेपछि राप्रपाले सत्ता छोडेको थियो । सत्ता छोड्दा राप्रपाले गठबन्धन बदल्ने प्रचण्डको निर्णयलाई नै कारण भनेको थियो ।
संघको सरकार छोडेपनि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार भइञ्जेल राप्रपा सरकारमै थियो । गएको १५ असारमा कोशीमा एमाले नेता हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए ।
तर कार्कीले विश्वासको मत नपाएपछि कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर ४७ सिट पुर्याएका थिए ।
त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले थापालाई पदमुक्त गरिदियो । थापालाई पदमुक्त गर्दै सर्वोच्चले १७ साउनसम्म संविधानको धारा १६८ ९२० बमोजिम संयुक्त सरकार गठनको समय दिएको छ । जुन धारा अनुसार, सरकार बनाउन प्रधानमन्त्री प्रचण्डसहित नेताहरु गृहकार्य गरिरहेका छन् ।
जसअन्तर्गत ६ सिट रहेको राप्रपाका अध्यक्ष लिङदेनलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।



























