राजनीति
कांग्रेस–माओवादी कोशी प्रदेशका सभामुख गौतमलाई राजिनामा गराउने तयारीमा

काठमाडौँ साउन १३ –
नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पदमुक्त गर्ने संकेत गरेको छ। पार्टीभित्रैबाट राजीनामा दिन दबाब बढेपछि उनी यतिबेला पार्टी नेतृत्वसँग परामर्शका लागि काठमाडौँमा छन्। नेताहरुले उनलाई राजीनामा दिन उचित हुने सुझाव दिएका छन्।
पार्टीको निर्देशनपछि उनले एक–दुई दिनभित्रै राजीनामा दिनसक्ने सम्भावना रहेको एक माओवादी नेताले बताए । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज गरेपछि सभामुख गौतमले राजीनामा दिनुपर्ने आवाज उठेको छ। गठबन्धनको पक्षमा बहुमत पुर्याउन सभामुख गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको थियो। सर्वोच्चले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्न नमिल्ने भन्दै थापाको नियुक्ति खारेज गरिदिएको थियो।
मुख्यमन्त्रीमा थापाको नियुक्तिविरुद्ध नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए।



























