देश/प्रदेश

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

०
Banner

इलाम, कात्तिक १३ –

माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै स्वास्थ्य सेवा पाएपछि खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले स्थानीय टोड्केमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनापछि स्वास्थ्य सेवा लिन दिनभर हिँडेर चिसोपानी पञ्चमीस्थित बाँझो पुग्नपर्ने बाध्यता हटेपछि खुसी व्यक्त गर्नुभएको हो ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रको टोड्केमा पर्ने माङसेबुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेपछि कुसुण्डे र मलिबाँसेलगायत आसपासका क्षेत्रका २०० बढी घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

“हामीलाई सामान्य स्वास्थ्य परीक्षण गर्न एवं नियमित औषधि लिन पञ्चमी पुग्न टोड्केबाट दिनभर हिँड्नुपर्ने बाध्यता थियो”, ज्येष्ठ नागरिक राईले भन्नुभयो, “आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि समयमै सहज रुपमा स्वास्थ्य सेवा पाएका छौँ ।”

घरनजिकै आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि सामान्य बिरामी हुँदा दिनभर हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता हटेको ७३ वर्षीया ज्येष्ठ नागरिक फूलकुमारी राईले बताउनुभयो ।

भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित टोड्के, कुसुण्डे, मालबाँसेलगायत नागरिकलाई लक्षित गर्दै गाउँपालिकाले त्यहाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

केन्द्रको आफ्नै भवन नबनेसम्म स्थानीय महिला सचेतना केन्द्रको भवनमा सञ्चालन हुने उक्त सेवाको गाउँपालिका अध्यक्ष हेमन्त राईले उद्घाटन गर्दै दुर्गम बस्तीका नागरिकसमक्ष स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले केन्द्र स्थापना गरिएको बताउनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “अत्यावश्यक औषधि र औजारसहित आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।” हाल केन्द्रमा दुई जना अहेव खटाइएको छ । केन्द्रबाट स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, निःशुल्क औषधि वितरण, स्वास्थ्य परामर्श र खोपलगायत सेवा दिइने स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार राईले जानकारी दिनुभयो । छ वटा रहेको उक्त गाउँपालिकाले सञ्चालनमा ल्याएको सो स्वास्थ्य केन्द्र गाउँपालिकाको दशौँ स्वास्थ्य संस्था हो ।

गाउँपालिका उपाध्यक्ष विनोद नेम्वाङले भौगोलिक रुपमा फराकिलो रहेको टोड्केका नागरिकलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>