राजनीति

राष्ट्रिय जनमोर्चा छोडेको समाचारमा सत्यता छैनः जिल्ला अध्यक्ष ढुङ्गाना

Banner

काठमाडौँ, साउन १३-
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले राजमो छोडेको समाचारमा सत्यता नरहेको बताउनुभएको छ ।

कतिपय मिडियामा राजमोको केन्द्रीय सदस्य, बागलुङ जिल्ला अध्यक्ष र नेकपा (मसाल) बाटै राजीनामा दिएको समाचार दिएपछि त्यसको खण्डन गर्दै उहाँले सो जानकारी दिनुभएको हो । तर उहाँले राजमोमा जिम्मा परिवर्तन गर्न खोजेको कुरा भने सत्य भएको जानकारी दिनुभयो ।

‘मैले राष्ट्रिय जनमोर्चामा जिम्मा परिवर्तन गर्न खोजेको कुरा सत्य हो’ उहाँले भन्नुभयो– ‘त्यसका लागि मैले पार्टीको सम्बन्धित च्यानलभित्र कुरा राखेको छु । त्यसबारे पार्टीभित्रको प्रक्रियाअनुसार निर्णय हुने नै छ ।’ उहाँले जिम्मा परिवर्तनसम्बन्धी कागजात प्राविधिक कारणले लिकेज भएको पनि स्वीकार्नुभयो ।

‘जिम्मा परिवर्तनसम्बन्धी मैले लेखेको निवेदन प्राविधिक त्रुटिका कारण बाहिएको सत्य हो’ उहाँले भन्नुभयो– ‘तर त्यसलाई मैले हटाइसकेको छु ।’

जिम्मा परिवर्तन र पार्टी परित्याग एउटै होइन
कतिपय मिडियाले जिम्मा परिवर्तन र पार्टी परित्याग गर्ने विषयलाई एउटै ठानेकोमा उहाँले खेद व्यक्त गर्नुभयो । ‘म राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य हुँ । मैले बागलुङको पार्टीमा मात्रै काम गर्न पाउने, अन्यत्र गर्न नपाउने भन्ने हुँदैन । त्यसैले मैले जिम्मा परिवर्तनको विषय उठाएको थिएँ’ उहाँले भन्नुभयो– ‘यता, कतिपय मिडियाले यो विषयलाई पार्टीबाटै राजीनामा ठानेकोमा खेद प्रकट गर्दछु ।’

उहाँले पारिवारिक कारणले जिम्मा परिवर्तन खोजेको तर त्यसका पछाडि अन्य कुनै पनि असन्तुष्टि वा विचारको विषय नरहेको पनि प्रष्ट पार्नुभयो ।

‘मेरो परिवारका सदस्यहरू अध्ययन, जागिरका कारणले फरक फरक जिल्लामा हुनुहुन्छ । वृद्ध बुबा चितवनमा हुनुहुन्छ । त्यो कारणले जिम्मा परिवर्तन गर्न पार्टीको पद्धतिअनुसार नै छलफल भइरहेको छ’ उहाँले भन्नुभयो– ‘यसरी राजमो केन्द्रीय सदस्य भएको हैसियतले देशको कुनै पनि जिल्लामा काम गर्ने गरी जिम्मा पाऊँ भन्ने विषय पार्टी परित्यागको हुँदै होइन ।’

विषयवस्तुलाई ठिकसँग नबुझेर वा तथ्यहीन ढङ्गले समाचारको नाममा परिकल्पना लेख्ने कतिपय मिडियाको उहाँले आलोचना गर्नुभयो ।

कसैले चाहेर मेरो चरित्रहत्या हुन्न
युगदर्शनसँगको कुराकानीमा उहाँले कसैले चरित्रहत्याको प्रयास गरेर आफ्नो चरित्रहत्या हुन नसक्ने दाबी गर्नुभयो ।

‘म जबसम्म सही विचारको पक्षमा अडिग छु, तबसम्म कसैले गर्ने चरित्रहत्याको प्रयासले मेरो चरित्रहत्या हुने होइन’ उहाँले भन्नुभयो ।
आफूसम्बन्धी समाचार प्रकाशन गर्ने मिडियाले भूमिगत पार्टीसित जोडेर अनर्गल विषय छापेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

‘कतिपय मिडियाले मैले मसालभित्रको अल्पमतलाई साथ दिएको, बागलुङबाट सांसद पाउन खोजेको जस्ता अनर्गल कुरा छापेका छन्’ उहाँले भन्नुभयो– ‘यी अनर्गल कुरालाई जोडेर मैले राजीनामा दिएको विषय उठाइएको छ । त्यो अत्यन्त गलत तरिका हो ।’

उहाँले आफूसम्बन्धी गलत समाचार छाप्ने मिडियालाई अनर्गल समाचार नछाप्न आग्रह गर्दै भन्नुभयो– ‘सूर्यलाई हत्केलाले छेकेर छेकिन्न ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>