राजनीति
व्यक्तिको निजी जग्गामा वृक्षारोपण नगर्न मेयर साम्पाङलाई उच्च अदालतको आदेश

काठमाण्डौँ, साउन ११-
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको निजी स्वामित्वमा वृक्षा।रोपण नगर्न उच्च अदालत विराटनगरले आदेश जारी गरेको छ । धरान ४ छोटी मोरङस्थित जग्गामा वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
धरान वडा नं.१ का पूर्व वडा अध्यक्ष रोशन अधिकारीकी श्रीमती रोजिनाले आफ्नो स्वामित्वको जग्गामा मेयर साम्पाङ नेतृत्वमा उपमहानगरपालिकाले जबरजस्ती वृक्षारोपण गरेको भन्दै निषेधाज्ञा माग गर्दै रिट निवेदन दिएकी थिइन्। उक्त रिट निवेदनको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मिलनकुमार राईको एकल इजलासले निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।
अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाममा दर्ता भएको बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ नम्बरको जग्गामा अनधिकृतरुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश जारी गरेको छ।
निवेदक अधिकारीको नाममा जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपुर्जा प्रतिलिपिबाट देखिएकोले कानुन बमोजिम अन्यथा नभएसम्म निजको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अकरणीय हक अधिकारकोरुपमा रहने पनि आदेशमा उल्लेख छ।
मेयर साम्पाङले पछिल्लो २ शनिबार सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा वृक्षारोपण गरेका थिए। उक्त डाँडामा पूर्व वडा अध्यक्ष अधिकारीको श्रीमतीको नाममा जग्गा छ। त्यहाँ उनीहरूले होटल र स्काई एडभेञ्चर प्याराग्लाइडिङ कम्पनी पनि सञ्चालन गरिरहेका छन्। उक्त कम्पनीको टेकअप स्थल पनि सोही ठाउँमा छ। गत शनिबार मेयर साम्पाङको नेतृत्वमा टेकअप स्थलमा वृक्षारोपण भएपछि विवाद चर्किएको थियो।
छोटीमोरङ डाँडा सट्टाभर्ना दिइसकेको सर्दु जलाधार क्षेत्रमा पर्ने भएपनि लगतकट्टा नहुँदा किनबेच भएको थियो। सर्वोच्च अदालतमा सट्टाभर्ना दिएको प्रमाण पेश नहुँदा जग्गाधनीकै हक भोग कायम हुने विगतमा फैसला भएको थियो।
पछिल्लो समय भने सट्टाभर्ना दिएको प्रमाण पेश भएपछि पुरानो फैसला उल्टाउँदै सर्वोच्च अदालतले नै छोटीमोरङसहित बाँझगार गाविसको पाँचकन्या ९ पुरै र साबिक घोपा पञ्चायतको हाल विष्णुपादुका ७ पुरैको जग्गा यथास्थितिमा रोक्का राखेको छ। साथै, मुद्दालाई पूर्ण इजलासमा पेश गर्न पनि आदेश दिएको छ।
सर्वोच्चको पुर्णइजलाशबाट अन्तिम फैसला नआउँदै मेयर साम्पाङले आफुहरुको स्वामित्वको जग्गामा जबरजस्ती वृक्षारोपण गरेकोले अदालतको ढोका ढकढकाउनु परेको पुर्व वडाअध्यक्ष अधिकारीको भनाई छ।



























