आर्थिक

दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात हो: अर्थमन्त्री डा महत

Banner
काठमाडौँ, साउन ११-
अर्थमन्त्री डा प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा आज यहाँ आयोजित बहुआयामिक हलोक्रान्ति-२००६ विषयक एक दिवसीय विचार गोष्ठीमा उहाँले दुराडाँडाको हलोक्रान्ति चेतना र क्रान्तिको सुरुवात भएको धारणा राख्नुभयो ।
“शिक्षाको चेतना व्यापक भएको लमजुङको दुराडाँडामा चेतनाकोस्तर विकसित भएको कारण नै हलोक्रान्ति भएको भन्ने मलाई लाग्छ,” उहाँले भन्नुभयो,  “हलोक्रान्ति सामान्य घटना होइन, हलोक्रान्तिको अगुवाई चारजना महत्वपूर्ण व्यक्तिले गर्नुभयो, त्यसबेला ब्राम्हणले हलो जोत्ने घटना असामान्य थियो ।” गलत परम्परालाई हलोक्रान्तिले तोडेको भन्दै उहाँले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सबै जातजाति, भाषाभाषी, संस्कृति, सम्पदाको संरक्षण गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । दुराडाँडालाई पहिलेको जस्तो हराभरा र स्मृतिलाई ताजा बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।
हलोक्रान्तिको महत्वलाई देशभर लैजानुपर्ने भन्दै उहाँले दुराडाँडामा निर्माण गर्न लागिएको हलो पार्क र हलो स्तम्भलाई सरकारको तर्फबाट सहयोग हुने अर्थमन्त्री डा महतले बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले श्रम र शिल्पबाट ठूलो र सानो जातिको उदय भएकाले त्यसलाई अन्त्य गर्न लमजुङबाट हलोक्रान्तिको थालनी भएको बताउनुभयो । “दुराडाँडामा ७४ वर्ष पहिले भएको हलोक्रान्ति शान्तिपूर्ण सांस्कृतिक क्रान्तिको उदाहरण हो,” उहाँले भन्नुभयो । कूलपति राईले प्रज्ञा प्रतिष्ठानभित्र हलोक्रान्तिलाई ७४ वर्षपछि आफ्नो विषय बनाएर अगाडि बढ्न लागेको बताउनुभयो ।
लम्जुङ सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले मुलुकको विकृति विसङ्गतीकाविरुद्ध सांस्कृतिक क्रान्तिको थालनी हलोक्रान्ति भएको बताउनुभयो । “राणा शासनको अन्त्य गरी मुलुकलाई सही ढङ्गले अगाडि बढाउन र विकृति, विसङ्गतिको अन्त्यका लागि हलोक्रान्ति भएको थियो,” उहाँले भन्नुभयो ।पण्डित तोयानाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूतिका रुपमा घोषणा गर्न सुन्दरबजार नगरपालिकाले प्रस्ताव अगाडि सारेको उहाँको भनाइ थियो ।
विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले शोषक र शोषितको दुरी अन्त्य गर्दै समानतामूलक समाज निर्माणका लागि हलोक्रान्ति भएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष डा लक्ष्मीकान्त पौडेलले दुराडाँडामा हलो पार्क र हलो स्तम्भ निर्माण गर्नका लागि प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष श्रीप्रसाद अधिकारीले हलोक्रान्तिलाई जीवन्त राख्न प्रतिष्ठानले काम गरिरहेको उल्लेख गर्नुभयो ।
हलो क्रान्तिको नेतृत्व तोयनाथ अधिकारी, शेषकान्त, हरिभक्त पौडेल र श्रीकान्त अधिकारीले लिनुभएको थियो । सोही क्रान्तिमा उहाँहरुसँगै २७ ब्राम्हणले हलो जोतेका थिए । सोही अवसरमा पण्डित तोयनाथ अधिकारीको बुहारी सुशीला अधिकारी, लेफ्टिनेन्ट शेषकान्त अधिकारीका छोरा डा पूर्णकान्त अधिकारी, मुखिया  हरिभक्त पौडेलकी बुहारी लक्ष्मी पौडेल र श्रीकान्त अधिकारीकी श्रीमती गायत्री अधिकारीलाई सम्मान गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>