Breaking News

भरतपुरमा कक्षा ११ मा मनपरी शुल्क लिने विद्यालयलाई महानगरले कारबाही गर्ने

Banner

चितवन, साउन १-

भरतपुर महानगरभित्र कक्षा ११ मा भर्ना र मासिकरुपमा मनपरी शुल्क लिने विद्यालयलाई महानगरले कारबाही गर्ने भएको छ ।

अभिभावक सचेत भएर मनपरी शुल्क लिएको सूचना उपलब्ध गराए तत्काल कारबाही हुने शैक्षिक प्रशासन महाशाखाले जनाएको हो ।

महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले तत्कालै शुल्क अनुगमन नगरे पनि अभिभावकको गुनासो र उजुरीका आधारमा कारबाही गर्ने गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ विद्यालयका प्रधानाध्यापकहरुसँग बसेर शुल्क र छात्रवृत्तिको कुरा टुङ्ग्याएका छौं । सरकारी दरबन्दीमा चलेका सरकारी विद्यालयहरुले कुनै शुल्क लिन मिल्दैन । निजी विद्यालयले पनि मनपरी गरेको सूचना पाए हामी छाड्दैनौं ।’ उनले अभिभावकले कक्षा ११ मा मनपरी शुल्क नतिर्न र बढी लिएको पाइएमा उजुरी गर्न सबैमा अनुरोध पनि गरेका छन् । उनले भने, ‘यस विषयमा अभिभावक पनि चनाखो हुनुपर्छ । मनपरी शुल्क तिर्न हुँदैन । शुल्क तिर्दा विचार गर्नुपर्छ ।’ महानगरले विगत वषर्मा शुल्क निर्धारण गरे पनि यस वर्ष गरेको छैन ।
भरतपुरमा काठमाडौँको तुलनामा शुल्क कम नै भए पनि शुल्कमा विद्यालयहरुको बीचमा एकरुपता भने छैन ।

महानगरको विद्यालय तथा शुल्क निर्धारण कार्यविधि–२०७६ अनुसार तोकिएको भन्दा बढी शुल्क लिने विद्यालयलाई महानगरपालिकाले शुल्क फिर्ता गर्न लगाइ १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने जनाइएको छ । विद्यालयको नियमअनुसार मासिक पढाइ शुल्कको दुई महिनाबराबरको शुल्क नै भर्ना शुल्क हो । नयाँ विद्यार्थीहरुका लागि तीन महिनाबराबरको शुल्कलाई भर्ना शुल्क मानिन्छ । वार्षिक शुल्क मासिक पढाइ शुल्कको एक महिनाको भन्दा बढी लिन पाइँदैन ।

शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार रमाकान्त सापकोटाले लागतको आधारमा शुल्क लिनुपर्छ तर धेरै विद्यालयहरु मुनाफाकै दृष्टिकोणबाट सञ्चालन भएकोले शुल्क बढी लिने गरेको बताए । उनले सामुदायिक विद्यालयहरुले पनि निजीले जस्तै कक्षा ११ र १२ मा शुल्क लिनु असान्दर्भिक भएको बताए । उनले विद्यालयहरुले बितरण गरेको छात्रवृत्ति पनि वास्तविक गरिब र विपन्न भन्दा पनि पहुँचवालाले पाउने गरेको आरोप लगाए ।

भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख पौडेलले कतिपय स्थानीय पालिकाले निजी र समुदायिक विद्यालयहरुमा बिहानी शत्रमा पढाउनुपर्ने नियम लागू गरे पनि त्यही नियम भरतपुरमा जरुरी नभएको बताए । उनले भने, ‘ भरतपुरमा सामुदायिक विद्यालयहरुले दिउँसो नै सञ्चालन गरेका छन् । निजी विद्यालयमा काम गर्ने विद्यार्थीहरु दिउँसो कतै काम पनि गर्ने भएकोले बिहान पनि सञ्चालन गर्न सक्ने अप्सन दिइएको छ । ’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>