देश/प्रदेश

वैदेशिक रोजगारीका क्रममा एजेन्टबाट ठगिने धेरै

Banner

काठमाडौं, असार १३-

वैदेशिक रोजगारीका सिलसिलामा दलाल (एजेन्ट)मार्फत् धेरै युवाहरू ठगिने एक तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्दै आइरहेको पिपुल फोरमको एक तथ्यांकले यस्तो देखाएको हो।

फोरमको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (हालसम्म) वैदेशिक रोजगारका क्रममा विभिन्न समस्यामा परेका दुई हजार आठ सय ८२ जनाले उक्त संस्थाबाट निःशुल्क कानुनी सहायता लिएका थिए। यस्तो सहायता लिने दुई हजार पाँच सय २१ पुरूष र ३६१ महिला छन्।

उनीहरूमध्ये सबैभन्दा धेरै एजेन्टमार्फत् समस्यामा परेको देखिएको छ। तथ्यांकअनुसार कानुनी सहायता लिएकामध्ये एक हजार चार सय ८२ जना एजेन्टमार्फत् ठगिएका छन्। त्यस्तै एक हजार चार सय म्यानपावर कम्पनी मार्फत् ठगिएका छन्। यो तथ्यांक हेर्दा व्यक्तिगत ठगीमा पर्ने ५४.४२ प्रतिशत छन्। ४८.५८ प्रतिशत म्यानपावर मार्फत् ठगिएका छन्।

रोजगारीको प्रलोभन देखाएर विदेश पुर्‍याएर अलपत्र पार्ने, पासपोर्ट जफत, काम तथा पारिश्रामिक नदिएका, वैदेशिक रोजगारीमा पुर्‍याउने बहानामा ठगी गरेका घटनाहरू धेरै भएको अधिवक्ता सुदीप देवकोटाले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय गन्तव्य मुलुकमा पुगेर मेडिकल अनफिट भएर फर्कनेहरू पनि धेरै देखिएका छन्। त्यस्तै वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन तथा ओसारपसारका घटना पनि बढेको उनले बताए।

फोरमको अघिल्लो वर्षको तथ्यांकले भने म्यानपावर कम्पनीमार्फत् ठगिने धेरै देखाएको थियो। गत आर्थिक वर्षको असार मसान्तसम्म दुई हजार आठ सय ५४ जना वैदेशिक रोजगारका ठगी पीडितहरूले निःशुल्क कानुनी सहायता लिएका थिए।
कानुनी सहायता लिएकामध्ये एक हजार तीन सय ७६ एजेन्टमार्फत ठगिएका थिए। म्यानपावरमार्फत् एक हजार चार सय ७८ जना ठगिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>