देश/प्रदेश
आमरण अनसनमा बसेका जैसीको अवस्था गम्भिर, वीर अस्पतालमा भर्ना

काठमाडौं, असार १३–
काठमाडौँको माइतीघरमा आमरण अनसनमा बसेका वीरेन्द्र जैसीको अवस्था गम्भिर भएपछि वीर अस्पतालमा लगेर भर्ना गरिएको छ । प्रहरीलाई तस्करबाट जोगाउँदा घाइते भएका जैसीको उपचारमा सरकारले बेवास्ता गरिएपछि उनी आमरण अनसनमा बसेका थिए ।
२०७३ फागुन १ गते राति गस्तीका प्रहरी र काठ तस्करबीच झडप भएपछि जैसीले प्रहरीलाई जोगाउन लागेका थिए । तर, प्रहरीका सईले चलाएको गोली जैसीलाई नै लाग्यो ।
डेढ महिना उपचार गर्दा करिब पाँच लाख खर्च भएको उनले बताए । त्यसबेला गृह मन्त्रालयले १ लाख ९१ हजार क्षतिपूर्ति दिएको थियो । तर, निरन्तर ‘फलोअप’ गरिरहनुपर्ने भएकाले आर्थिक भार थपिएको उनको भनाइ छ । पटकपटक गृह मन्त्रालयमा ताकेता गर्दासमेत थप उपचार खर्च नपाएपछि माइतीघरमा अनशन बस्न बाध्य भएको उनले बताए ।
‘हाम्रो उद्देश्य तस्करबाट प्रहरीलाई नै बचाउने थियो तर प्रहरीले हामीमाथि नै गोली चलायो,’ २६ वर्षीय जैसीले भने । आमरण अनशन थालेको बाह्रौं दिन बित्दा पनि सरकारले कुनै सुनुवाइ नगरेको उनले बताए । ‘घटनापछि तत्कालीन मन्त्रीले सबै खर्च बेहोर्ने भन्नुभयो तर अहिलेसम्म राहत र क्षतिपूर्ति छैन,’ जैसीले भने, ‘सरकारले मेरा लागि उपचार र रोजगारीको प्रबन्ध गरिदिनुपर्छ ।’

























