देश/प्रदेश
धनुषा जिल्ला अदालतमा ढुंगामुढा, चार जना घाइते
जनकपुरधाम, असार ५-
जिल्ला अदालत धनुषामा मंगलबार दिउँसो ढुंगामुढा भएको छ ।
धनुषामा शंकास्पद मृत्यु भएकी आरती साहलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीले अदालतमा पनि ढुंगामुढा गरेका हुन् ।
प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै साहको माइती पक्षले अदालतबाहिर प्रदर्शन गरेका थिए । त्यसै क्रममा अदालतमा ढुंगामुढा भएको हो ।
प्रहरीले प्रदर्शनकारीलाई हटाउने क्रममा झडपसमेत भएको छ । झडपमा प्रहरीले लाठीचार्ज गर्दा चार जना घाइते भएका छन् । प्रहरीले प्रदर्शनमा सहभागी गोविन्द साहलाई पक्राउ गरेको छ । प्रदर्शनकारीको ढुंगामुढाका कारण एक जना प्रहरी घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए ।
७ जेठको साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षकी आरती साहको मृत्यु भएको थियो । माइती पक्षले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले प्रदर्शनमा सहभागीहरुमाथि कुटपिट गरेको माइती पक्षले आरोप लगाएका छन् । उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, आरतीको मृत्युको घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान व्यृरो (सीआईबी) ले अनुसन्धान गर्नुपर्नेसहितका ६ बुँदे माग राखेका छन् ।