देश/प्रदेश
भारत सरकारले दिन लागेका मुर्रा जातका राँगालाई कृत्रिम गर्भाधानका लागि पोखरा र लहानमा राखिने

काठमाडौं,जेठ २१-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने सम्झौता भएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालका अनुसार भारत सरकारले उपहारस्वरुप दिन लागेका मुर्रा जातका राँगालाई नेपाल ल्याएपश्चात् कृत्रिम गर्भाधानका लागि पोखरा र लहानमा राखिने भएको छ ।
उनले नेपाल ल्याएपश्चात् ती राँगालाई पशु सेवा विभागअन्तर्गत पोखरा र लहानमा रहेका भैँसी प्रजनन् केन्द्रमा राखिने बताए
विभागका अनुसार नेपालमा मुर्रा जातका भैँसीहरु अहिले पनि पालिएका छन् । लामो समयदेखि एउटै प्रकारले प्रजनन् भइरहकेकाले नश्ल सुधारका लागि उन्नत जातका राँगा ल्याउन नेपालले लामो समयदेखि प्रयास गरिरहेको थियो ।
मुर्रा उन्नत २० राँगाको जातमध्येको एक हो र यसको सबैभन्दा उत्कृष्ट गन्तव्य दक्षिणी भारत हो । नेपालले भारतसँग २०७३ सालदेखि खरिद नै गरेर ल्याउने गरी मुर्रा राँगा माग गरिरहेको डा. ढकाल बताउँछन् ।तर, भारतको रैथाने अनुवांशिक वस्तु अन्यत्र लैजान कडा नीति भएका कारण सात वर्षसम्म पनि यो प्रयास सफल नभएको उनको भनाइ छ । पोखरा र लहानमा रहेका प्रजनन् केन्द्रबाट मुर्राको वीर्य उत्पादन तथा वितरण गरी विभिन्न सरकारी कृषि फार्महरुमा पुर्याइनेछ ।
यसबाट नेपाली भैँसीहरुको नश्ल सुधार तथा दूधको उत्पादन पनि बढाउन सकिने विभागको अपेक्षा छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार १५ वटा मुर्रा राँगाको मूल्य झन्डै ४५ लाख रुपैयाँ हुन आउँछ ।
उनका अनुसार नेपालले कम्तिमा २० वटा राँगा खरिद गरेरै ल्याउने गरी दुई वर्षयता सोहीअनुसारको बजेटको अनुमान गरेको थियो । भारतले सबै व्यवस्था मिलाएपश्चात् पशु सेवा विभागबाट प्रतिनिधिहरु ती राँगाको स्वास्थ्य परीक्षणका लागि पुग्नेछन् ।
यसले दैनिक १० देखि १६ लिटरसम्म र एक बेतमा २७० देखि ३०० दिनसम्म दूध दिने गरेको पाइन्छ, जुन सामान्य तथा स्थानीय जातका भैँसीभन्दा बढी हो । भारतमा यसको मूल्य ६० हजारदेखि एक लाख ३० हजार रुपैयाँ भारुसम्म पर्ने गरेको छ ।
मुर्रा भैँसी विशेषगरी दुई प्रकारका हुन्छन्, ग्रेडेड र शुद्ध मुर्रा । ग्रेडेड मुर्राको मूल्य ६० देखि ७० हजारसम्म पर्छ भने शुद्ध मुर्रालाई भारतका व्यावसायिक फार्महरुले ७० हजारमाथि एक लाख ३० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।
त्यसमा पनि यदि मुर्राले पाडी (भैँसीको पोथीबच्चा) पाएको खण्डमा त्यसको मूल्य बढी हुन्छ । किनकि, पाडी ३६ देखि ४८ महिनामा दूध दिने भैँसीको रुपमा विकास हुन्छ ।
























