देश/प्रदेश

भिड थेग्नै नसक्ने भएपछि भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीले गरायो बन्द

Banner

काठमाडौं, जेठ ५-

केही समयजदेखि सामाजिक सञ्जालमा भाइरल रहेको ‘सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-७ मा रहेको कार्यालय आजबाट बन्द गरिएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताए । ‘असाध्यै भिड भएकाले हामीले शान्ति-सुरक्षाका कारण तत्कालका लागि बन्द गर्न निर्देशन दिएका हौँ,’ डीएसपी कुँवरले भने ।

सामाजिक सञ्जालमा सिमान्त गुरु नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा आफ्नो कार्यालय सारेका थिए । त्यसअघि उनको कार्यालय कोटेश्वरमा रहेको थियो ।

केसीले ठाउँ सानो भएकाले तारकेश्वर सरेको तर, यहाँ पनि समस्या आएको बताए । केसीले ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर काम गर्दै आएका थिए ।

‘उहाँले कम्पनी दर्ता र वडा कार्यालयबाट सिफारिससमेत निकालेर काम गरिरहनु भएको रहेछ । कसैबाट उजुरी परेर बन्द गरेको होइन । जिल्ला प्रशासनसँग समन्वय गरेर काम गर्नुस् भनेका छौं’, डीएसपी कुँवरले भने ।

बोल्न नसक्ने र हिँड्न नसक्ने व्यक्तिलाई छोएर मात्र होइन, हेरेको भरमा पनि निको पाल्न सक्ने दाबी केसीले गर्दै आएका छन् । भिडियो कलमा हेरेर समेत बिरामी निको पार्ने भनेपछि सामाजिक सञ्जालमा उनको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिले मानिसहरुलाई अन्धविश्वासमा राखेर ठगी धन्दा चलाएको भन्दै आलोचना पनि गरेका छन् । तर, पनि उनीकहाँ आउनेहरुको भिड घट्नुको साटो झन् झन् बढरहेको छ ।

टिकटकबाट व्यापक प्रचार गरेपछि केसीको शिविरमा मानिसहरु झुम्मिन थालेका हुन् । उनले विगत ८ महिनादेखि आफू यसमा केन्द्रीत भएर लागेको बताए ।

उनी भन्छन्, ‘मैले टिकटकमा भिडिओहरु हाल्न थालेपछि जनताले विश्वास गर्नुभएको छ । सामाजिक सञ्जालका कारणले जनतासम्म पुग्न मलाई धेरै सजिलो भयो ।’ अहिले उनको टिकटक एकाउन्टमा सवा लाख फलोअरस् छन् ।

केसीका अनुसार उनी एक वर्षअघिसम्म कोटेश्वरमा माक्सको व्यापार गर्थे । सपनामा आफ्नो क्षमताबारे थाहा पाएपछि त्यसलाई व्यवहारिकरुपमा उतारेको उनी बताउँछन् ।

‘हुन त मलाई १२/१५ वर्षकै उमेरमा आफ्नो क्षमताबारे थाहा थियो । त्यतिबेला पनि केही मान्छेलाई निको पनि पार्थे । तर मलाई धेरैले विश्वास गर्दैन थिए । अहिले सामाजिक सञ्जाल आएपछि मेरो क्षमता अरुलाई् बुझाउन सजिलो भयो’, उनले भने ।

केसी श्रीमती, दुई छोराछोरी र करिब एक दर्जन भोलेन्टियरसहित तारकेश्वरमा बस्दै आएका छन् । ‘मैले कसैलाई मेरोमा आउनुस् भन्दिनँ । यति नै पैसा दिनुस् भनेर पनि माग्दिन । नदिन पनि पाइन्छ । मैले विशुद्ध सेवाभावले सुरु गरेको हो’, उनी भन्छन् ।

तर आफू स्वयम् बिरामी हुँदा चिकित्सककोमा जाने गरेको केसी स्वीकार गर्छन् ।

‘म आफैं पनि बिरामी भएँ भने चिकित्सकोमा जान्छु भनेर आफैले पनि भन्ने गरेको छु’, उनले भने । सहयोगी गणेश अधिकारीको दावीअनुसार त्यहाँ आउने करिब ९० प्रतिशत बिरामी निको हुने गरेका छन् ।

‘अधिकांश विरामी निको भएर जानु हुन्छ । उहाँहरु सबैजना विश्वास नै भएर आउनु भएको हो,’ उनले भने । शनिबार दाङमा एक हप्ताको शिविर सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । दुई महिनाअघि उनले पोखरामा शिविर सञ्चालन गरेका थिए ।

शिविरका लागि जाँदा पोखरा विमानस्थलको भिआइपी कक्ष उनले प्रयोग गरेका थिए । पोखराको शिविर विवादमा आएपछि जिल्ला प्रशासनले हस्तक्षेप गरेर बन्द गराएको थियो । सेवाग्राहीबाट १र१ हजारका दरले उठाइएको १ लाख २४ हजार रुपैयाँ पनि जफत गरिएको थियो ।

आफूकहाँ आउनेलाई केसीले टाउको तथा शरीरका विभिन्न अंगमा तेलले थप्थपाउने गर्छन् । क्यान्सर, प्यारालाइसीसदेखि थाइराइड र पायल्ससम्मका रोग हेरेर वा छोएर ठिक पार्ने गरेको उनका अनुयायी बताउँछन् ।

कसैलाई आएर देखाउने बित्तिकै ठीक हुने त कसैलाई केही दिनपछि ठीक हुने उनीहरुको दावी छ । कतिपय सेवाग्राहीहरुले समेत डाक्टर जाँदा ठीक नभएका रोग सिमान्त गुरुले ठिक पारेको बयान दिएपछि उनी भाइरल भएका हुन् ।

केसीले आफूलाई अलौकिक शक्ति प्राप्त भएको दावी गर्दै आएका छन् । पहिले उनी पत्रकारिता र फिल्म लेखनमा संलग्न रहेको बताइएको छ । नेपाल प्रेस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>