देश/प्रदेश

विदेश पुर्‍याइदिन्छु भन्दै दस महिनामा ७६ करोड ठगी

Banner

काठमाडौं, जेठ ४-

वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको दस महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूले झन्डै ७६ करोड रूपैयाँ ठगी गरेको पाइएको छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ वटा उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रूपैयाँ ठगी रकम दाबी गरिएको छ।

यो रकम दाबी वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानुनी एजेन्ट र बिचौलियाले गरेको ठगीबाट भएको जनाइएको छ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि विभागसँग अनुमति लिएका म्यानपावर कम्पनीबाहेक अन्य कोही पनि एजेन्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम छ। तर पनि सरकारको नियमविपरीत एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी बर्सेनि बढ्न थालेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्षको तुलना यो वर्ष ठगी भएका उजुरी बढेका छन्।

पछिल्लो केही समययता वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत नै नलिएका व्यक्तिहरूबाट भएको ठगीको उजुरी महिनामै सयभन्दा बढी पर्न थालेका छन्। विभागले गएको वैशाख महिनामा मात्रै एजेन्ट र बिचौलियाबाट भएको ठगीको एक सय चार वटा उजुरी परेको जानकारी दिएको छ।

गएको आर्थिक वर्षमा एजेन्टहरूबाट ठगी भएको ६ सय ९५ वटा उजुरी विभागमा परेको थियो। ती उजुरी उपर ५० करोड ४४ लाख ६१ हजार २०३ रूपैयाँ रकम दाबी गरिएको थियो।

अघिल्लो आर्थिक वर्ष २०७८र०७९ देखि अहिलेसम्म एजेन्ट र बिचौलियाबाट एक अर्ब २६ करोड २२ लाख दुई हजार चार सय १७ रूपैयाँ ठगी भएको छ। विभागमा परेको एक हजार छ सय २० वटा उजुरी उपर यो रकम दाबी गरिएको हो।

ल्अभिि
चालु आर्थिक वर्षको दस महिनामा परेका नौ सय २५ वटा उजुरीमध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने एक सय ७६ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी विभागकै रोहबरमा एक सय ३५ जनाले मिलापत्र गरेका छन्। मिलापत्रमार्फत एजेन्टहरूले नौ करोड ४३ लाख ५६ हजार एक सय रूपैयाँ फिर्ता गरेका जनाइएको छ।

गैरकानुनी एजेन्ट र बिचौलियामार्फत भएको ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर अदालतमा मुद्दा दायर र मिल्छु भन्नेहरूलाई मिलापत्र गराउने गरेको विभागका निर्देशक तथा सूचना अधिकारी सुवेदीले जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>