देश/प्रदेश

नक्कली नागरिकता दिलाएको आरोपमा पक्राउ परेका वडाध्यक्ष १ लाख धरौटीमा रिहा

Banner

सप्तरी, जेठ ४-

नक्कली नागरिकता प्रकरणमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–११ का वडाध्यक्ष उदितनारायण यादव बिहीबार एक लाख रूपैयाँ धरौटी राखी रिहा भएका छन्।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले धरौटी मागेपछि वडाध्यक्ष यादव एक लाख धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएको अदालतले जनाएको छ।

सर्जमिन मुचुल्कामा बसेका सोही वडाका राधेश्याम यादव २५ हजार रूपैयाँ धरौटी राखी रिहा भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए।

भारत घर भई राजविराजमा बस्दै आएका भारतीय नागरिक सतिश यादवलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्ष, नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत, स्थलगत वस्तुस्थिति (सर्जमिन) गर्ने, गराउने प्रहरी, स्थानीयसहित २८ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ।

नेपाली नागरिकता लिने भारत घर भएका सतिश यादव र उनलाई छोरा बनाएर नागरिकता दिलाउने राजविराज नगरपालिका–११ का सूर्यनारायण यादव बुधबार एक/ एक लाख धरौटीमा रिहा भएका थिए।

बाँकी २६ जना आरोपितविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो।

अदालतले जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृत सप्तरीको खडक नगरपालिका–१० का किशोरकुमार राम, नायब सुब्बा राजविराज नगरपालिका–८ का सुशील कर्ण, खरिदार सुरूंगा नगरपालिका–८ का सञ्जीवकुमार साह र मोरङको विराटनगर महानगरपालिका–४ का सुरज नेपालविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

यसैगरी राजविराज नगरपालिका–११ का वडासचिव हरिनारायण यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक सर्लाही, हरिपुर नगरपालिका–७ का महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार सर्लाहीको गोडैटा नगरपालिका–१२ का नारायणकुमार महतो, प्रहरी जवानमहोत्तरीको बर्दीवास नगरपालिका–११ का रामईश्वर मण्डल र स्थानीयवासीसहित २६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट नक्कली नागरिकता प्रकरणमा वैशाख ३१ गते २८ जनाविरूद्ध अभियोग पत्र दायर भएको छ। तीमध्ये २४ जना अझै फरार छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>