पत्रपत्रिका

नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन

Banner

काठमाडौं, वैशाख १९–

२०७८ मंसिरमा पार्टीको १४औं महाधिवेशन गरेर नेतृत्व चुनेको दल नेपाली कांग्रेसले नेता चुनेको १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ । कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वमा शेरबहादुर देउवा चुनिएका थिए भने पदाधिकारी र केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए ।

कांग्रेस विधानमा नेता चुन्ने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीको नीति तय गर्न छुट्टै अधिवेशन डाक्ने व्यवस्था छ । तर, कांग्रेस नेतृत्वले विधानको व्यवस्थालाई वेवास्था गर्दै महाधिवेन सकिएको ६ महिनाभित्र गर्नुपर्ने नीति अधिवेशन १७ महिना बित्दासमेत गर्न सकेको छैन ।

सोही कारण कांग्रेसको मर्गचित्रसमेत अस्पष्ट रहँदै आइरहेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नीति अधिवेशन, भ्रातृ संगठनमा नेतृत्व र पूर्णता, पार्टीको संगठन सुदृढीकरण र रिक्त विभागलाई पूर्णता दिनेलगायतका विषयमा पार्टीभित्र अनौपचारिक रूपमै भए पनि गहन छलफल सुरु भइसकेको जानकारी दिए ।

‘नीति अधिवेशन, भ्रातृ संगठनमा नेतृत्व र पूर्णता, पार्टीको संगठन सुदृढीकरणलगायतका विषयमा गम्भीर र गहन रूपमा छलफल सुरु भइसकेको छ, भदौमा नीति अधिवेशन गर्नेगरी योजना बन्दै छ, आगामी केन्द्रीय समिति बैठकबाट सबै कुराको टुंगो लाग्छ,’ कांग्रेस महामन्त्री शर्माले भने । कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि निर्वाचनको समीक्षा बैठकसमेत राखेको छैन ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षासमेत कांग्रेसले औपचारिक रूपमा बैठक डाकेर गर्न सकेको छैन । ‘लामो समययता पार्टीको केन्द्रीय समिति बस्न नसक्दा धेरै कुरामा अलमल भएका छन्, यही वैशाख अन्तिम साता केन्द्रीय समिति बैठक बोलाउनेगरी छलफल भइरहेको छ,’ कांग्रेस पार्टी कार्यालयका एक कर्मचारीले भने । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>