राजनीति
रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

काठमाडौं,बैशाख १६-
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । सभापति रवि लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भएको भन्दै उनले शनिबार दलको नेताबाट राजीनामा दिएका हुन् । उनले उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका छन् ।
आजकै मितिदेखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु । मेरो कार्यकालमा सहकर्मी माननीयहरूले दिनुभएको साथ र सहयोगका लागि म सदैव आभारी रहनेछु, राजीनामा पत्रमा लेखिएको छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने नागरिकता विवादका कारण उनको उम्मेदवारी नै खारेज भएपछि दलको नेतामा अर्याललाई चयन गरिएको थियो । यही वैशाख १० गते भएको उपनिर्वाचनबाट लामिछाने पुनः चितवन २ बाट विजयी बनेका छन् ।



























