राजनीति
विचार मिल्ने कम्युनिष्ट पार्टीबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्छौं: माधव नेपाल

काठमाडौं, वैशाख १०-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढने बताएका छन् ।
अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताए ।
उनले भने, ‘ छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर हामी प्रस्तुत हुन गईरहेका छौं । त्यसका निम्ति हामी अरु समूहहरुसँग पनि कुरा गर्दै, गर्दै जानेछौं । सहभागी हुन चाहनेहरुलाई समाजवादी मोर्चामा आवद्ध गरिनेछ । अझै त्यो भन्दा अगाडि बढेर विचार पनि मिल्यो भने, नीति, सिद्धान्त पनि मिल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, अनि हाम्रो संगठनात्मक सोचहरु पनि मिल्यो भने, हाम्रो कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं ।’



























