राजनीति
मौका पाएसम्म निजी क्षेत्रले अझै पनि कर छल्ने प्रयास गरिरहेका छन्: प्रधानमन्त्री

काठमाण्डौ वैशाख ९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका छन् ।
शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताए । उनले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य मुक्त हुनुपर्ने जानकारी दिए । उनले दुवैतर्फबाट यस्ता अनुचित सोच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताए ।
उनले भने, ‘निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोचबाट राज्य पनि मुक्त हुन जरुरी छ । निजी क्षेत्रले पनि राज्यलाई यो हामीलाई मात्रै दबाउने वा अठ्याउने वा निचोर्ने संस्था हो भन्ने सोचबाट मुक्त हुन जरुरी छ । राज्य पनि निजी क्षेत्रलाई दबाउने भन्ने मानसिकतामा हुन्छ भने निजी क्षेत्र पनि मौका पाएसम्म राज्यलाई करमा हुन्छ की अन्य के मा हुन्छ छल्ने र अघि जाने भनेको जस्तो मानसिकता अझै बदलिएको छैन । यो सोचमा बदलाव नआइकन हुँदैन ।’
प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताए ।



























