चितवन विशेष
चितवन २ उपनिर्वाचनः छैन विकासको बहस, स्टण्डबाजी र आरोपप्रत्यारोप मात्रै

चितवन, वैशाख ४–
चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुन अब ६ दिन मात्रै बाँकी छ । मतदानको अघिल्लो दुई दिन मौन अवधि हुने भएकाले उम्मेदवार तथा दलहरुले उपनिर्वाचनको प्रचारप्रसार गर्न पाउने समय चार दिन मात्रै बाँकी छ । मतदान हुन केहि दिनमात्रै बाँकी रहँदा पनि उमेदवारले विकासको स्पष्ट एजेण्डा प्रस्तुत गर्न सकेका छैनन् ।
उम्मेदवारहरु स्टण्डबाजी र आरोपप्रत्यारोपमै केन्द्रित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन २ का उम्मेदवार रवि लामिछाने निर्वाचन आचारसंहिता विपरित घण्टी बोकेर घरदैलोमा हिँडिरहेका छन् । रास्वपाका नेता र समर्थकले पनि घण्टी बजाउँदै हिड्ने गरेका छन् ।
लामिछानेले आफ्नो व्यक्तिगत कमजोरीको स्पष्टिकरण दिन समय खर्चिनुपरेको छ । आफुविरुद्ध घेराबन्दी भएको उनले बताउने गरेका छन् । नागरिकता मुद्धामा अदालतले लामिछानेलाई दोषी ठहर गरेपछि उनको सांसद पद खारेज भएको हो । उनले कुनै दल र उम्मेदवारको आलोचना भने गरेका छैनन् ।
धर्मचोकमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले जुन रुखमा फल लाग्छ त्यहि रुखमा झटारो हान्ने गरिएको बताए । ‘मैले त्रुटिको सजाय भोगेर आएको छु । जनतासमक्ष माफी मागेको छु’, उनले भने, ‘म कुनै दल तथा उम्मेदवारको आलोचना गर्दिन । सबै दलगत शक्तिहरु हामीविरुद्ध खनिएका छन् ।’
नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले भने रवि लामिछानेको चर्काे आलोचना गर्दै आएका छन् । आफुहरु चितवनकै माटोमा जन्मिएको र यहिँ राजनीति गरेको भन्दै उनीहरुले रविले चुनाव जिते फेरि उपनिर्वाचन हुने दाबी गर्छन् ।
एमाले उम्मेदवार न्यौपानेले बाहिरबाट आएका उम्मेदवारलाई स्वागत गर्न नहुने बताउँछन् । ‘बाहिरबाट व्यवसाय गर्न आउनेलाई वेलकम गर्न सकिन्छ । घुम्न आउनेलाई वेलकम गर्न सकिन्छ । तर यहाँको जनप्रतिनिधि यहिँको समस्या बुझेको, यहिँको माटोमा हुर्किएको र यहिँको राजनीतिबाट खारिएको हुनुपर्छ’, उनले भने । राज्यका नीति निर्माणका आफुले पहल गर्ने बताउँदै उनले सुकुम्बासीको व्यवस्थापनलगायत जनताको पक्षमा राम्रो नीति बनाउन माग गर्ने बताए ।
कांग्रेस उम्मेदवार श्रेष्ठले आफु कान्छो युवा उम्मेदवार भएको र चितवन २ मै राजनीति गरेर खारिएको बताए । ‘एक रुपैयाँ भ्रष्टाचार गरे मैले आमाको रगत खाए सरह हुनेछ’, आइतबार एक कार्यक्रममा बोल्दै उनले भने, ‘म चितवनकै माटोमा जन्मे हुर्केको मान्छे हुँ । जितेर गएपछि कुनै एउटा पनि नराम्रो काम गर्ने छैन ।’

























