समाज

‘वकिल हुँ’ भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Banner

काठमाडौं, चैत २९–

नक्कली कानून व्यवसायी बनेर ठूलो रकम ठगी गर्ने जाजरकोटको छेडागाड नगरपालिका–१२ का ४९ वर्षीय मानबहादुर सिंह पक्राउ परेका छन्। उनले ‘वकिल हुँ’ भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको प्रहरीले जनाएको छ।

मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै उनले ठगी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। उनले अहिलेसम्म ३१ लाख ठगी गरेको फेला परेको र उनको साथबाट ७० लाख रुपैयाँभन्दा बढी रकम उल्लेख गरिएको विभिन्न बैंकका चेक बरामद गरिएको छ।

उनले विभिन्न ठाउँमा आफ्नो नाम भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भनेर चिनाउने गरेका पनि पाइएको छ। उनले अरुको लाइसेन्स नम्बर दुरुपयोग गरेको पनि पाइएको छ।

सिंहको साथबाट सर्वोच्च अदालतबाट जारी भएको वादी नेपाल सरकार प्रतिवादी नारायणशमशेर जबरा भएको मुद्दाको चैत २९ गतेको तारेखको पर्चा र नारायणशमशेर जबराले बैंकिङ कसुर मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको पुनरावेदनको प्रतिलिपि पनि बरामद गरिएको छ। यस्तै विभिन्न अदालतबाट जारी भएको तारेख पर्चा पनि बरामद भएको रिजालले जानकारी दिए।

सिंहमाथि ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै उनीबाट ठगीमा परेको भए सम्पर्कमा आउन प्रहरी उपरीक्षक रिजालले आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>