राजनीति
मेयर बालेनको अभिव्यक्तिप्रति संघीय सरकारको आपत्ति

काठमाडौं, चैत २८-
संघीय सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । साथै कानुन सम्वत रुपमा काम गर्न र अन्य मुद्दालाई फोहोरसँग नमिसाउन आग्रह समेत गरेको छ ।
काठमाडौंका मेयर बालेनको निर्देशनमा तीन दिनदेखि सिंहदरबार परिसर र राष्ट्रपति कार्यालयको फोहोर व्यवस्थापन रोकिएको छ । सिंहदरबारको फोहोर नठाउने भन्दै शनिबार सामाजिक सञ्जालमा ‘साँच्चिकै देश सफल गर्नु परे त्यहाँ (सिंहदरबार) का नेताहरुलाई सिसडोलमा पम्प गर्नुपर्ने हुन्छ’ भनेका थिए । मंगलबारको मन्त्रिपरिषद् बैठकमा बालेनको अभिव्यक्ति र फोहोर रोक्न कदमबारे छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोहोर नउठाउने महानगरको निर्णयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए । स्थानीय सरकारसँग संघीय सरकारको सम्बन्धलाई लिएर सार्वजनिक रुपमा समेत प्रश्न उठेको भन्दै उनले कसरी राम्रो बनाउन सकिन्छ भनेर मन्त्रालयगत धारणा मागेका थिए ।
‘काठमाडौंका मेयरले गैरकाननुनी र गैरजिम्मेवार कुरा गरेका छन्, यसलाई सरकारले गम्भीरतापूर्वक दिएको छ’, एक मन्त्री भन्छन्, ‘हामी चाहन्छौं, कानुन सम्वत् ढंगले काम गरुन । त्यो भएन भने के गर्ने सरकारले सोच्नुपर्छ ।’
सरकारले अरु मुद्दालाई फोहोरमा नमिसाउन समेत काठमाडौं महानगरलाई आग्रह गरेको छ । ‘सुकुम्बासीको समस्या छ, अरु पनि समस्या होला, तर हरेकको आफ्नो क्षेत्रधिकार छ’, अर्का एक मन्त्रीले भने, ‘अन्य कुरालाई फोहोरसँग मिसाउनु भएन ।’
बैठकपछि सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि उपत्यकाका फोहोर स्थानीय तहले उठाउने नीतिगत व्यवस्था भएको सम्झाइन् । ‘त्यो नीतिगत व्यवस्था परिवर्तन भएको छैन’, उनले भनिन्, त्यसैअनुसार व्यवस्थापन गर्न छलफल गर्ने र त्यसो हुँदा पनि नभए नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा गम्भीर छलफल छ ।’ काठमाडौं महानगरका मेयरको अभिव्यक्ति राम्रो नभएको छलफल भएको समेत उनले जानकारी दिइन् ।



























