कृषि

भरतपुरका ४० युवा कृषकलाई प्रति व्यक्ति ५० हजार रुपैयाँ बराबरको अनुदान दिइँदै

०
Banner

प्रतिमा कुमाल

चितवन, चैत २७–

भरतपुरका ४० जना युवा कृषकहरुले प्रति किसान ५० हजार रुपैयाँ बराबार अनुदान पाउने भएका छन् ।

भरतपुर महानगरपलिकाअन्र्तगत रहेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाले उनीहरुलाई सो अनुदान दिन लागेको हो ।

छनोट भएका युवा कृषकले जेठ मसान्तसम्म भुक्तानी लिइसक्ने शाखाका अधिकृत पुरुषोत्तम तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए ।
उनले भने, ‘मेयरसँग विकास कार्यक्रमअन्तरगत यस वर्ष ७३ जना नयाँ युवा कृषकहरुले आवेदन दिएका थिए । अनुदान मागको आवेदन दिएकाहरुको फिल्डमै गएर अनुगमन गर्दा ४० जना योग्य देखिए । उनीहरुलाई दिने सम्झौता भइसकेको छ ।’ शाखाले आर्थिक वर्ष २०७७÷०७८ मा २५ जनालाई र गत आर्थिक वर्ष २०७८–७९ मा ४० जनालाई अनुदान थिएको थियो ।

अनुदान पाउने च्याउ, मौरी र तरकारी किसान रहेको तिवारीले बताए । यस अनुदान युवा केन्द्रित भएकाले १८ वर्षदेखि ५० वर्ष भित्रका कृषक युवायुवतीले माग गर्न सक्ने छन् ।

युवा कृषकको संख्या बढ्दै

यस वर्ष युवा कृषकको संख्या बढेकाले अनुदानमा नाम दोहो¥याउन नपरेको तिवारीको भनाइ छ । ‘विगतका दिनमा एउटै व्यक्तिले दुई पटक तीन पटकसम्म सेवा सुविधा लिने अवस्था थियो । नयाँ उद्यमी नथपिँदा थपिए पनि मापदण्ड पूरा नगर्दा हामीलाई पुरानैलाई दिनुपर्ने बाध्ता पनि थियो । अहिले नयाँ मान्छे आउनु भयो फिल्ड अनुगम नगर्दा मापदण्ड पनि पुग्यो । जसले गर्दा छनोट भएका ४० जना नै नयाँ कृषक हुन्’, उनले भने ।

अनुदानलाई हौसलाका रुपमा लिन समेत तिवारीले युवा कृषकलाई आग्रह गरेका छन् । उनले भने, ‘यहाँ अनुदान माग्न आउनेहरु अरुको लहैलहैमा पनि आएका छन् । फिल्ड अनुगमन गर्न जादा उनीहरुले पेस गरेको प्रमाणहरु परिपक्क छैनन् । तर, हामीले जडसम्म पुगेर वास्तविक कृषकलाई छनोट गरेका छौं । ५० हजारले सायद खासै सहयोग नपुग्ला तर यो नयाँ व्यवसाय सञ्चालन गर्न बीउको काम अवश्य गर्छ । साथै यो एउटा सरकारले युवाहरुलाई दिएको हौसला पनि हो ।’ शाखाले यस वर्ष यस कार्यक्रमको लागि २० लाख बजेट छुट्टाएको थियो ।

अनुदानको मापदण्ड

अनुदान दिनभन्दा अगाडि पून फेरि अनुगमन हुने तिवारीले बताए । उनले भने, ‘कृषक छनोट गर्दा हामी अनुगमन गरेर अन्तिम नतिजा तयार गर्छौ । यससँगै अनुदान भुक्तानी दिने बेलामा पनि हामी क्रस अनुगमन गर्छौ । भुक्तानी दिने बेलामा ठिक नठहरिए उसलाई अनुदान दिँदैनौं ।’

यो अनुदान लिनको लागि तरकारी कृषकले १० कठ्ठा क्षेत्रफलसम्म खेती गरेको हुनुपर्ने प्रावधान रहेको छ । यस्तै मौरीपालक कृषकले १० घार भन्दा बढी पालेको हुनुपर्नेछ । च्याउ व्यवसायी हो भने वार्षिक १०० किलो च्याउको बीउ खपत गरेको हुनुपर्नेछ ।

कुनकुन वडाका कति जनाले पाउँदैछन् अनुदान

शाखाको तथ्याङ्क अनुसार अनुदानपाउनेमा भरतपुर महानगरपालिका वडा नं. ५, १३, १६, २०, २२ का एक–एक जना रहेका छन् । वडा नम्बर ६, १५, २१, २३ र २७ का दुई– दुई जना रहेका छन् । वडा नम्बर १८ का ३ जना, वडा नम्बर २८ को ४ जना, वडा नम्बर २६ का ५ जना, वडा नम्बर २५ का ६ जना वडा नम्बर १७ को ७ जना रहेका छन् ।

अनुगमनमा जनशक्तिको अभाव

पालिकाको कृषि शाखामा प्राविधिकको कमीले गर्दा कृषकलाई दिने सेवा सुविधामा ढिलाई र अनुगमननमा कठिनाई भएको अधिकृत तिवारीले सुनाए । उनले भने, ‘महानगरको २९ वटा वडामध्ये अधिकांस वडा कृषि क्षेत्र नै छ । पहिलाका गाउँ विकास समितिभन्दा ठूला वडाहरु यहाँ छन् । यत्रो ठाउँलाई धान्न हामी चार जना प्राविधिक छौं । जनशक्तिको अभावले अनुगमन प्रक्रिया झनझटिलो छ । त्यसमा पनि चारपाङ्ग्रे सवारीसाधनको अभाव छ । जसले गर्दा एकै दिन धेरै भन्दा धेरै कृषकको उत्पादनमा अनुगमन गर्न सक्दैनौ । साथै मेघौलीमा खेती बालीमा रोग किरा लाग्यो भने भरतपुरबाट दौडिनुपर्ने अवस्था छ । त्यहाँपुग्दासम्म किसानको बालीनै सखाप भइसकेको हुन्छ ।’ महानगरले सवारीसाधनको व्यवस्थापनमा ध्यान दिन नसकेको गुनासो उनले पोखे ।

तिवारीले संघीय सरकारको पालामा ल्याइएको एक वडा एक प्राविधिक प्रावधान स्थानीय तहमा लागू नहुँदा सूचना प्रवाहमा समेत समस्या देखिएको बताए । ‘संघीय सरकारले एक वडा एक कृषि प्राविधिक प्रावधान ल्याए पनि यसलाई स्थानीय तहले लागू गर्न सकेको छैन । जसले किसानले सही समयमा यहाँबाट निस्केका सूचनाहरु पाएका छैनन् । सानातिना रोग कीराहरु लागे महानगरबाट धाउनु पर्छ र चार जनाले कताकता सेवा दिने । तर, वडा मै एक प्राविधिक राख्न सके उसले नसकेको हामीकहाँ आउथ्यो । हामीले नसकेको कृषि ज्ञान केन्द्रमा जान्थ्यो । उसले पनि नसकेको बाली संरक्षण प्रयोगशाला पुग्थ्यो । च्यानल वाइज जान सकिन्थ्यो,’उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>