Breaking News

स्वास्थ्य बिमाको टिकट हरेक दिन नविकरण गर्नुपर्ने बाध्यता, भरतपुर अस्पतालमा बिरामीलाई सास्ती

Banner

चितवन, वैशाख २०-

स्वास्थ्य बिमाको टिकट अस्पतालमा हरेक दिन नविकरण गर्नुपर्ने बाध्यताले नागरिकले सास्ती पाएका छन् ।

भरतपुर अस्पतालमा पहिलो पटक टिकट काट्न त भीडभाड गरेकोमा फेरि हरेक दिन टिकट नविकरणको प्रावधानले नागरिकले थप सास्ती भोगेका हुन् ।
अहिले अस्पतालमा आइतबार काटेको टिकट फेरि सोमबार प्रयोगशालाको रिपोर्ट देखाउँदा नविकरण गर्नुपर्ने बाध्यता छ । भरतपुर अस्पतालमा हुने भीडभाडले एकैदिनमा बिरामीले ओपीडी, प्रयोगशाला र औषधिको सेवा लिन कठिन देखिन्छ । यस्तो अवस्थामा झनै पटक पटक लाइन लाग्नुपर्ने बाध्यताले बिरामी झन्झटमा परेका छन् । स्वास्थ्य बिमा बोर्डले वैशाख १ गतेबाट यो नियम लागू गरेपछि नागरिकले सास्ती पाएका हुन् ।

भरतपुर महानगरपालिकाको शुक्रनगरदेखि सुगरको उपचार गर्न आएकी ४२ वर्षीय माया गौतमले स्वास्थ्य बिमा बोर्डको यो निर्णयबाट आफूहरु अस्पतालमा दिक्दार भएको बताइन् । उनले भनिन्, ‘ पहिले चार दिनसम्म टिकटले काम गर्ने भएकोले सजिलो थियो । एक दिन टिकट काटेर लाइन बसेपछि अर्काे चारदिनसम्म टिकटको लाइन बस्नुपर्ने थिएन तर अहिले भोलिपल्ट रगतको रिपोर्ट देखाउन आउँदा लाइन बस्नुपरेको छ । नागरिकलाई दुःख दिएर स्वास्थ्य बिमा बन्द गर्न खोजेको हो जस्तो शंका लागेको छ ।’ उल्टै बिरामीले १० प्रतिशत पैसा तिर्दा पनि एक पछि अर्काे झन्झट थप्ने काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘ खाना अघि र खाना पछि रगत परीक्षण गर्नुपर्छ । टिकट लिँदा, प्रयोगशालामा, प्रयोगशाला रसिद काट्दा, औषधि लिँदा लाइनमा बस्नुपर्छ । एकपछि अर्काे लाइनबस्नुपर्ने बाध्यताको बीचमा टिकट नविकरणको नयाँ प्रावधानले झनै समस्या भएको छ ।’ पदमपुरदेखि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएका कृष्ण महतोले कार्यालयमा काम गर्ने मानिसलाई टिकटलाई पटकपटक नविकरण गर्नुपर्ने बाध्यताले साह्ै समस्यामा पारेको बताए ।

भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले स्वास्थ्य बिमा बोर्डको यो निर्णय आफूहरुलाई मन नपरेको बताए । उनले भने, ‘ बिरामीहरुको भीड लाग्ने अस्पतालमा फेरि बिरामीले हरेक दिन टिकट नविकरणको लागि लाइन लाग्नुपर्ने बाध्यता छ । यो गलत कार्य हो ।’ उनले आफूले माथि नै यो काम गलत हो भने र भनिसकेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ स्वास्थ्य बिमाको नाममा नागरिकलाई अनावश्यक लाइनको झन्झट दिनु हुँदैन ।’

बिरामीलाई झन्झट भएको भन्ने जानकारी बोर्डलाई भए पनि व्यवस्थित गर्नको लागि रियल टाइम लागू गरिएको बोर्डले जनाउने गरेको छ ।
स्वास्थ्य बिमा बोर्ड नेपालकी सूचना अधिकारी ओमकुमारी कँडेलले बिमालाई थप व्यवस्थित बनाउन यस्तो नियम लगाइएको बताइन् । उनले भनिन्, ‘ रियल टाइम लागू भएको छ । बिरामीको चेकजाँचमा समस्या भए पनि हामीले सेवालाई थप व्यवस्थित गर्न खोजेका छौं ।’ उनले बिरामीले पाएको झन्झटबारे आफू जानकार रहेको बताइन् । कँडेलले प्रथम प्रस्थान बिन्दु निजी अस्पतालहरु थप नगरिएको कुनै विशेष परिस्थितिमा रिफर लिएर मात्र बिमाबाट निजी अस्पतालमा उपचार गराउन सकिने बताइन् । स्वास्थ्य बिमाबाट एकातिर नागरिकले सास्ती पाइरहेका छन् भने बिमाबाट डाक्टरले सिफारिस गरेको सामान्य औषधि पनि नपाउने अवस्था छ । जसबाट बिरामीहरु बाहिर क्लिनिकबाट औषधि किन्न बाध्य छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>