राजनीति
प्रधानमन्त्रीले भने-ऋण लिएर तिर्दिनँ भन्नेप्रति कठोर छु

काठमाडौं,चैत २७-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए ।
“मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ । बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ । हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,” प्रधानमन्त्रीले भने । अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको बताए ।
“विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महसुस हुँदै छ । अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ,” प्रधानमन्त्रीले भने, “बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दै छु । हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन । सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ ।”
प्रधानमन्त्री दाहालले भूकम्प, कोरोना, रूस र युक्रेन युद्धको कारण अर्थतन्त्रमा समस्या आएको दाबी समेत गेर । “अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार छन्,” प्रधानमन्त्रीले भने, “यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्धलगायतका कारण छन् । आयात, निर्यातसम्बन्धी निर्यातमा भएका सीमाहरूको कारण पनि छ । राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ ।”
घरजग्गा कारोबारमा सहजीकरण नगरिकन तरलताको समस्या सम्बोधन गर्न नसकिने उनको भनाइ छ । “अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदै छौँ । घरजग्गा कारोबारमा सहजीकरण नगरिकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ । त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ,” प्रधानमन्त्रीले भने ।
ऋण लिएर तिर्दिनँ भन्नेको लागि सरकार कठोर रहेका प्रधानमन्त्रीले बताए । “बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन । त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,” प्रधानमन्त्रीले भने, “हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ ।”



























