राजनीति
दुर्घटना हुँदा फोन सम्पर्क गर्न नसक्ने अवस्था छ, छिटोभन्दा छिटो हाइ–वे कभरेज गर्न भनेको छुः सञ्चारमन्त्री

काठमाडौं,चैत २४-
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभित्र टेलिफोन सेवाको गुणस्तर बिग्रँदै गएको स्वीकारेकी छिन् । संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिंदै मन्त्री शर्माले देशभित्र टेलिफोन सेवाको गुणस्तर बिग्रँदै गएको स्वीकारेकी हुन् । उनले काठमाडौंमै पनि कतिपय ठाउँमा ‘ब्ल्याक स्पट’ रहेको भन्दै उनले राजमार्गहरु पनि फोन नटिप्ने समस्या रहेको बताइन् ।
मन्त्री शर्माले बिग्रिएको टेलिफन सेवाको गुणस्तर सुधार्ने जिम्मा मन्त्रालयको काँधमा रहेको बताइन् । ‘हामी एउटा गृहकार्य गरिरहेका छौं, टेलिकमले पनि गरिरहेको छ,’ नेपाल टेलिकमतर्फ संकेत गर्दै उनले भनिन्,‘मन्त्रालयको तर्फबाट सहयोग गर्ने काम पनि भइरहेको छ ।’
दूरदराजको ठाउँमा टेलिफोन सेवा नै नपुग्नु र काठमाडौंमा नै फोन सेवाको पहुँच नपुग्नुको कारण फरक–फरक रहेको मन्त्री शर्माले बताइन् । ‘हाइ-वे (राजमार्ग)मा समेत फोन टिप्दैन, कम्तिमा त्यहाँ कभरेज गरौं भनेका छौं,’ उनले भनिन्,‘कतिपय ठाउँमा निकुञ्ज र जंगलहरु छन्, काठमाडौंबाट मुग्लिन पुग्दा समेत राजमार्गको कैयन ठाउँमा फोन टिप्दैन ।’
सवारी दुर्घटना हुँदा फोन सम्पर्क समेत गर्न नसक्ने अवस्था रहेको भन्दै उनले छिटोभन्दा छिटो हाइ–वे कभरेज गर्न भनिएको बताइन् ।
कर्णालीसहित विकट क्षेत्रमा टेलिफोन सेवा राम्रो स्वीकार गर्दै उनले दुःख बिरामी र अप्ठेरो पर्दा समेत सेवाग्राहीले सहज ढंगले फोनमा कुराकानी गर्न नपाएको बताइन् । देशका सबै भू-भागमा टेलिफोनसहित सञ्चार सुविधा पुर्याउने विषयमा मन्त्रालय दृढ रहेको मन्त्री शर्माले बताइन् ।



























