राजनीति
राहदानी प्रकरणमा क्षमादान पाएकाले सुशासनको घण्टी बजाउनु वाहियात : शंकर पोखरेल

काठमाडौं, चैत २३–
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देउवा–प्रचण्डको गठबन्धनलाई भ्रष्ट गठबन्धनको संज्ञा दिएका छन्। त्यस्तै रास्वपा अध्यक्ष रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादानको याचना गरेको आरोप समेत लगाएका छन्।
महासचिव पोखरेलले देशको अर्थतन्त्र कमजोर बनाएर कमिसनका लागि कालोबजारी, तस्करी, घुसखोरी र दलाल तथा नोकरशाही तन्त्रलाई यो गठबन्धनले प्रवद्धन गरेको आरोप लगाएका हुन्।
यस्तै उनले रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादान पाएको भन्दै सुशासनको घण्टी बजाउनुको केही अर्थ नभएको उल्लेख गरेका छन्। नागरिकता मुद्दामा मन्त्री र सांसद पद गुमाएका रविलाई राहदानी दुरुपयोग प्रकरणमा भने उनलाई केही राहत मिलेको छ।
लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिने दिन चैत ६ गते नै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लामिछानेविरुद्धको मुद्दा रोक्नुपर्ने सर्त राखेको थियो। विश्वासको मत दिनुअघि स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डीपी अर्याल महान्यायधिवक्ता कार्यालयमै पुगेका थिए।



























