राजनीति
धर्मका विभिन्न प्रकार भए पनि लक्ष्य भनेको एउटै हो: उपराष्ट्रपति यादव

काठमाडौँ, चैत्र २१-
उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन् ।
आज (मङ्गलवार) जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताएका हुन् । उनले धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने बताए । उनले धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशासित रूपमा अघि बढ्न प्रेरित गर्ने बताए । उनले महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
‘नेपालमा जैन धर्मावलम्वीहरु प्रायः नेपालको सबै ठाउँमा विभिन्न समुदायका बीचमा मिलेर बसेका छन् । जहाँ रहे पनि भगवान् महावीरका उत्कृष्ट सिद्धान्तहरूलाई अनुसरण गर्दै धर्म, संस्कृति, समाजसेवाका माध्यमबाट आफ्नो सकारात्मक छाप छोड्न सफल छन्, अहिंसा, शान्ति, एकान्तवाद, नैतिकता, सच्चरित्रता, एवं जैन धर्मका महत्त्वपूर्ण पक्षलाई जनजनमा लैजान सङ्गठनको ठुलो भूमिका हुन्छ’, उनले भने, ‘कुनै पनि संस्थाको अविरल गतिले सञ्चालन हुँदै ५४ वर्ष पूरा गर्नु आफैँमा गर्वको विषय हो । भगवान् महावीरका अहिंसा, एकान्त, अपरिग्रहहरू सिद्धान्त सामाजिक जीवनमा आज पनि उत्तिकै सान्दर्भिक छन् । धर्ममा नैतिकता, प्रमाणिकता, प्रतिबद्धता र सत्यता हुन्छ । त्यसले मात्रै हामीलाई कुनै पनि सुमार्गमा लैजान सक्छ । धर्मका विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य भनेको एउटै हुन्छ । धर्मको परिभाषा त्यसको प्रभाव सर्वजनहीतायको भावनाले मात्र ओतप्रोत हुन्छ । धर्मले नै यस संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशासित रूपमा अघि बढ्न प्रेरित गरेको हुन्छ ।’



























