चितवन विशेष
चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

चितवन, चैत्र २१-
चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् । तर, रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले देखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ।
दबी विरोधको दिन आज लामिछाने विरुद्धमा एक व्यक्तिले इमेल मार्फत उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको छ । उजुरी दर्ता गराउँदा निर्वाचन अधिकृतको कार्यालयमा पुगेरै उजुरी दिए मात्रै त्यस उजुरीलाई आधार मान्ने बताउँदै जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले यो बिषयमा के गर्ने भन्ने छलफल बाँकी रहेको बताए। उनका अनुसार सर्वोच्चमा रिट परेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी खारेजको माग राखेर उजुरी गरेका छन्। यद्यपी, यसरी इमेल मार्फत परेको उजुरीलाई मान्न नसकिन निर्वाचन अधिकृत कार्की बताउँछन्।
‘सर्वोच्चले फैसला गरिरहेको कुरामा हामीले यहाँबाट केही गर्ने कुरा भएन,’ कार्कीले भने, ‘उजुरी गराउनेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेकोलाई मात्रै उजुरी मानेर हामीले छानबिन गर्ने, स्पष्टिकरण सोध्ने हो। यसलाई उजुरी मान्न सकिदैंन।’ सोमबार लामिछानेले चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।





























