राजनीति
सडक शिलान्यासका लागि प्रधानमन्त्री प्रचण्डसहित बाबुराम र नारायणकाजी पनि गोरखा जाने

काठमाडौं, चैत ६-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सडक शिलान्यासका लागि गोरखा जाने भएका छन् । गोरखा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटारसडक शिलान्यास गर्न प्रचण्ड गोरखा जान लागेका हुन् । उक्त सडकको स्तरोन्नतिको मंगलबार शिलान्यास गरिने भएको हो ।
पालुङटार नगरपालिकाको विमिरेमा बिहान ११ बजे हुने शिलान्यासका लागि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोरखा जाने कार्यक्रम छ।
भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।
वूड हिल–लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोर्खाको पालुङटार नगरपालिका एवम् सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दुधपोखरी नगरपालिकाका विभिन्न वडाबासीहरू लाभान्वित हुनेछन्।



























