राजनीति

प्रधानमन्त्रीको दाहालको सम्पत्ति विवरण किन गोप्य ?

Banner

काठमाडौं,चैत ६-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबहाली गरेको तीन महिना बित्न लाग्दा पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री दाहालसहित सात जना मन्त्रीको सम्पत्ति विवरणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘वेबसाइट’मा सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर, कति भनेर सार्वजनिक गरेको छैन । सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यसरी प्राप्त सम्पत्ति विवरण हेर्न पाउने गरी सार्वजनिक गर्नुपर्नेमा गोप्य राखिएको छ ।

यदि सम्पत्ति विवरण सार्वजनिक गरिदिने हो भने यसअघि प्रधानमन्त्री हुदाँ भएको सम्पत्ति र अहिलेको सम्पत्ति कति बढ्यो वा घट्यो भने आमनागरिकले जाँच्न पाउँथे । तर, प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्दा नागरिकमा आशंका बढेको छ । दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा ५ भदौ २०७३ मा भने सम्पत्ति सार्वजनिक भएको थियो ।

उतिखेरको सम्पत्ति विवरण केवल एक कठ्ठा मात्र जग्गा थियो । दाहालले सम्पत्ति विवरणमा देखाएको सो सम्पत्ति पैत्रिक भएको उल्लेख गरेका थिए । तर, सो सम्पत्ति श्रीमती सीता दाहालको नाममा राखेका थिए । साथै उनले त्यतिखेर तीन तोला सुन रहेको र आफ्नो कतै सेयर एवं जग्गा जमिन नभएको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिहरूको सम्पत्ति विवरण सार्वजनिक नभएकोबारे प्रधानमन्त्री कार्यालयका एक सचिवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सम्पत्ति विवरण सार्वजनिक भए पनि मन्त्रिपरिषद्बाट निर्णय नभएकाले सार्वजनिक हुन नसकेको बताए । ‘सम्पत्ति विवरण प्राप्त भएको तर कसको कति सम्पत्ति भनेर मन्त्रिपरिषद्बाट निर्णय नभई खुलाउन नमिल्ने भएकाले सार्वजनिक हुन नसकेको हो,’ ती सचिवले भने ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदमा बसेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सरकारलाई बुझाउनुपर्ने,’ उल्लेख छ । कानुनी रूपमा सम्पत्ति विवरणमा व्यक्तिगत गोपनीयतासम्बन्धी कानुन लागू हुन्छ । तर, मन्त्रिपरिषद्ले कार्यव्यवस्था नियमावलीमा व्यवस्था गरेरै संघ सरकारका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरिएको थियो । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>