चितवन विशेष
चितवनमा स्ववियु निर्वाचन : विद्यार्थी संगठनका नेता के भन्छन् ?

चितवन, चैत २–
चितवनको तीन आंगिक र १४ पब्लिक गरी १७ वटा क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । क्याम्पसहरुमा निर्वाचन कार्य तालिका अनुसार प्रक्रिया अघि बढ्न सकेको छैन । आंगिक क्याम्पसमा मतदाता र उमेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने केहि पब्लिक क्याम्पसमा अन्यौलता सिर्जना भएको छ ।
क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनले लगाएका ताला प्रहरीले फुटालिसकेको छ । नेकपा एमाले निकटको अनेरास्ववियु स्ववियु निर्वाचन एक्लै लड्दै छ भने सत्ता गठबन्धन दल निकटका विद्यार्थी संगठनहरु चुनावी तालमेल गर्ने प्रयासमा छन् ।
सप्तगण्डकी, मैयादेवी र बालकुमारीमा निर्वाचन कार्यतालिका अनुसार काम हुन सकेको छैन । सप्तगण्डकीमा हिजो माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका विद्यार्थीले तोडफोड गरेपछि निर्वाचनको प्रक्रिया अन्यौल बनेको छ । कलेजले डाटा चुहाएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् ।
स्ववियु निर्वाचन निर्धारित समयमै हुनुपर्ने एमाले निकटको अनेरास्ववियु चितवनका सह–संयोजक हरी आचार्यले बताए । ‘हामी चुनाव हुनुपर्छ भन्ने पक्षमा छौँ । हार जीतमा डराउदैनौँ’, उनले भने, ‘हा¥यौँ भने संगठन बलियो बनाउनतर्फ लाग्छौँ । जित्यौँ भने विद्यार्थीको पक्षमा काम गर्छाैँ । संगठनलाई अझ सशक्त बनाउछौँ ।’ अनेरास्ववियु १७ वटै क्याम्पसमा एक्लै चुनावी मैदानमा छ ।
पब्लिक क्याम्पस संघले आफ्नो अनुकुल निर्वाचन कार्य तालिका हेरफेर गर्न पनि सक्नेछन् । कांग्रेस निकटको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष राजेश भुसालले पनि सबै क्याम्पसले चुनाव गराउनेमा विश्वस्त रहेको बताए । नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले चुनावमा गठबन्धन गर्दै छन् ।
विरेन्द्र क्याम्पस, माडी क्याम्पस, अमरजंग र चितवन इन्जिनियरिङ क्याम्पसमा गठबन्धन टुंगिसकेको उनले बताए । अन्य क्याम्पसमा गठबन्धन टुंगिनसकेको तर गठबन्धनको लागि प्रयास भइरहेको उनले जानकारी दिए । ‘सबै क्याम्पसमा माओवादीसँग गठबन्धनको प्रक्रिया अघि बढेको हो । केहिमा भइसक्यो, केहिमा बाँकी छ’, उनले भने । संगठनभित्र एक–दुई स्थानमा देखिएका विवादहरु पनि समाधान भइसकेकाले निर्वाचन सहज किसिमले जित्ने उनको दाबी छ ।



























