चितवन विशेष
चितवन–२ उपनिर्वाचन : यी हुन् एमाले र कांग्रेसका सम्भावित उम्मेदवार

चितवन, चैत १–
चितवन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको लागि बैशाख १० गते उपनिर्वाचन हुँदै छ । यसअघि यसै क्षेत्रबाट निर्वाचित भई सांसद पद खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि चुनाव लड्दै छन् । नागरिकता सम्बन्धि मुद्धामा सर्वाेच्च अदालतले उनलाई दोषी ठहर गर्दै उनको सांसद पद खारेज गरेपछि चितवन २ को सांसद पद रिक्त छ ।
उपनिर्वाचनको लागि लामिछानेले तयारी थालिसकेका छन् । चितवन २ मा पर्ने रामनगरमा राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापना गरिसकेको छ । लामिछानेको राहदानी दुरुपयोग सम्बन्धि केशमा छानविन भइरहेको छ ।
चितवन २ को उपनिर्वाचनमा दुई ठूला दलको उम्मेदवारको बारेमा पनि चर्चा हुन थालेको छ । नेपाली कांग्रेसबाट जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र यसअघि रवि लामिछानेसँग पराजित भएका उमेश श्रेष्ठको नाम चर्चामा छ । लामिछानेलाई चुनाव हराउन कांग्रेसले स्वर्णिम वाग्लेलाई उठाउनुपर्ने कुरा पनि कांग्रेसभित्र एउटा पक्षले उठाएको छ ।
एमालेबाट उम्मेदवार को बन्ला भन्ने चासो देखिएको छ । एमालेबाट जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने, पोल्ट्रीविज्ञ डा तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख गोपी श्रेष्ठमध्ये एकजना उम्मेदवार हुने एमाले स्रोतले बताएको छ ।
दुई पटकसम्म क्षेत्र नं २ बाट जितेका र गत निर्वाचनमा रविसँग पराजित भएका एमाले नेता कृष्णभक्त पोखरेल यसपटक उम्मेदवार बन्न इच्छुक छैनन् । उनले पार्टीले बनाउने उम्मेदवारलाई जिताउन लाग्ने बताउँदै आएका छन् ।
कालिका नगरपालिका निवर्तमान प्रमुख श्रेष्ठले एमालेले विश्वास गरेर टिकट दिए उम्मेदवार हुन तयार रहेको बताएका छन् । ‘मैले उम्मेवार हुन्छु भन्ने कुरा हैन, पार्टीले मलाई टिकट दिए पनि ठिकै छ, नदिए पनि पार्टीले बनाउने उम्मेदवारलाई जिताउन हिँड्ने कुरा नै हुन्छ,’ श्रेष्ठले भने, ‘मेरो ब्यक्तिगत इच्छाभन्दा पनि पार्टीको निर्णयले काम गर्छ ।’
एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पनि चितवन २ मा उठ्ने चाहना राखेका छन् । गत मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले फिर्ता लिएर कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । एमाले जिल्ला अध्यक्ष न्यौपानेले पार्टीले निर्णय गरे चितवन २ मा उम्मेदवार बन्ने बताए । ‘पार्टी भित्रबाट को उम्मेदवार बन्छ भन्ने कुरामा समस्या छैन, जो बने पनि पार्टी जिताउन लाग्छ’ अध्यक्ष न्यौपानेले भने, ‘तर एमालेले यसपटक कसैलाई पनि समर्थन गरेर मैदान खाली गर्दैन ।’
चितवन क्षेत्र नंं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । गत मंसिरमा भएको निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेका थिए । सो क्षेत्रबाट लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर जित्दा पाँच दलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत पाएका थिए ।
निर्वाचन कार्यालय चितवनका अनुसार मतदाताको अन्तिम नामावली चैत १५ गते प्रकाशन गर्ने तालिका छ । चैत १८ गते निर्वाचन कार्यालय स्थापना, चैत २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारी फिर्ता र दावी विरोध तथा २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।



























