अपराध
जग्गा विवादमा चितवनमा पक्राउ परेकी पिंकी लामा श्रेष्ठसहित पाँच जना रिहा

प्रतिमा कुमाल
चितवन, फागुन १६–
जिल्ला प्रहरी कार्यालय चितवनले जग्गा विवादमा पक्राउ गरेको पिंकी लामा श्रेष्ठसहित पाँच जनालाई रिहा गरेको छ ।
२०२० सालदेखि भोगचलन गर्दै आएको जग्गा अर्कैको नाममा भएपछि लामाको परिवारले लामो समयदेखि विरोध गर्दै आएको थियो । सो विरोधको क्रममा आज प्रहरीको सुरक्षामा जग्गा धनी कृष्णराज न्यौपानेले डोजर लगायर सो जग्गामा भएको घर टहरा भत्काएका हुन् । त्यसको विरोधमा रहेका पिंकीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लामासहित सोममाया लामा, नानु गुरुङ, श्रेया लामा, लालु कुमाल र कल्याणी पोखरेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । योसहित प्रहरी प्रशासनले ५ पटक छोरीसहित आफ्नो पक्षमा बोल्ने छिमेकीलाई हिरासतमा लिएको कान्छी लामाले बताइन् । पिंकी र सोममायाको आमा उनले भनिन्, ‘२०२० साल देखि यो जग्गा फडानी गरेर मैले भोग चलन गरे । यो जग्गा ६ कट्ठा २ धुर हो । त्यो बेला जग्गाको लाजपूर्जा निकाल्दा २ कट्ठा १७ धुर भन्दा बढीको लाजपूर्जा पाउदैन भने । हामी सोजो मान्यौं । पछि पूर्वसांसदसहितका व्यक्तिहरुले विभिन्न व्यक्तिसँग कागजीरुपमा भित्र भित्र बेचेको पाइयो । त्यसकै विरुद्धमा आवाज उठाइरहेका छौं ।’
























