Breaking News

लघुबित्तबाट ऋण लिएका चितवनका महिलाहरु भन्छन्ः लघुउद्यमी बन्ने चाहानाले कंगाल भइयो

Banner

प्रतिमा कुमाल

चितवन, फागुन ९–

लघुबित्त संस्थाहरुले शोषण गरेको भन्दै चितवनसहित देशभरका लघुउद्यमीहरु आन्दोलित छन् । सर्वसाधारणलाई सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुबित्तबाट नै आमनागरिक अहिले प्रताडित भइरहेको लघुवित्तमा आवद्ध महिलाहरुको गुनासो छ । यसकै एक उदाहरण हुन् चितवन स्थित माडी नगरपालिका–४ सिधुवाकी माया महतो ।

लघुबित्तले जग्गासहित आय–आर्जनको स्रोत कब्जा गरेको उनले सुनाइन्, ‘लघुवित्तका कर्मचारी घर–घरमै आएर बस्नुस् भनेर विभिन्न प्रलोभन देखाए । बस्दिन भन्दा पनि दिनकै आउने । एक भन्दा बढी लघुबित्तमा बस्दा केही हुदैन भनेर भने । तपाइँको पैसा बचत हुन्छ । लघुउद्यमी बन्नु हुन्छ भन्ने आशा देखाए । त्यसमा फसेर समूह बनाएर बस्यौं । एक दुई किस्ता तिर्न ढिला हुँदा सम्पति सबै जफत भयो’, उनले भनिन् ।
‘डेढ कठ्ठा जग्गा निर्धनले, सिलाइबुनाइको मेसिन, आइरन, डेढलक मेसिन, घुम्ती पसल, जेनेनेटर, फ्रिज नेष्टोले उठायो । अहिले दैनिक सासुससुराको गाली सुनेर घरमा आश्रय लिनुपर्ने बाध्यता छ’, उनले बताइन् । लघुउद्यमी बन्ने चाहानाले कंगाल उद्यमीमा परिवर्तन गरिदिएको उनले दुःख पोखिन् ।
महतोले ऋण फजुल खर्चको लागि नभई आफ्नो श्रीमान्लाई वैदेशिक रोजगारमा पठाउनका लागि लिएकी थिइन् । तर, गएको ११ महिनासम्म उनका श्रीमान् ओमबहादुर महतोले पैसा पठाउन नसकेपछि लघुबित्तले उठी बास लगाएको गुनासो उनको छ । उनले भनिन्, ‘घर सल्लाहले निर्धनबाट दुई लाख ५० हजार निकालेर बुढालाई कतार पढाएँ । विदेश गएको ११ महिनासम्म श्रीमान्ले पैसा पठाउन सक्नुभएन । उल्टै भिसा परिवर्तन गर्न यहाँबाट पैसा पठाउनु प¥यो । बुढो विदेशजाँदा तीन महिनाको गर्भवती मैले आफ्नो सिप प्रयोग गरेर आम्दानी गर्ने अवस्था थिएन । सुत्केरी भएकोले घुम्ती पसल राम्रोसँग चलाउन सकिनँ । फेरि कोरोना महामारी आयो । दुबै बुढाबुढीको आम्दानीको स्रोत नै ठप्प भयो । एक दुई किस्तामा पर्खनुस् भन्दा सबै थोक जफत भयो ।’ लघुबित्तबाट लिएको ऋण तिर्न नसकेपछि सात वर्षदेखि महतोका श्रीमान् कतारमा छन् । जेनतेन महिनाको ३० हजार कमाउने ओमबहादुर घरको ऋण तिरेपछि मात्र स्वदेश फर्कने अडानमा रहेको महतोले पीडा सुनाइन् ।

आफूलाई राम्रो ऋणीको रुपमा लिने महतो समस्या परेको बखत लघुबित्तले उठिबास लगाएको गुनासो पोखिन् । ‘बचत गरेर मात्र नहुदो रहेछ अनिवार्य ऋण लिनैपर्ने । ऋणी भयो भने राम्रो अंक पाइन्छ पुरस्कार पाइन्छ भन्थे । सुरुमा तीन हजार, १० हजार देखि ५० हजार ऋण लिएँ । ऋण खेल्दै जादा घुम्ती पसलको लागि सिलाइबुनाइ गरी जोडेको डेढ कठ्ठा जग्गा मध्ये एक कठ्ठा धितो राखेर डेढ लाख निकालेँ । केही बचेको पैसा छोराछोरीको पढाइमा समेत लगाएँ । यो ऋण मैले राम्रोसँग तिरेँ । फेरि निर्धनबाटै तीन लाख निकालेँ । यो पनि चुक्ता गरेँ । तर, जब मेरो श्रीमान् विदेशमा अलपत्र पर्दा केही समय तिर्न नसक्ने अवस्थामा पुगँे मलाई उठिबास लगाए’, उनले सुनाइन् ।

निर्धनको ऋण तिर्न अन्य ७ वटा लघुबित्तीय संस्थामा समेत जोडिन पुगेको उनले बताइन् । ‘निर्धन र नेष्टोका कर्मचारी दिनकै घरमा आएर धर्ना बस्न थालेपछि साधना, एनएमबी, नेष्ठो, मितेरी, विजय, आरम्भ चौतारी र छिमेकीमा समेत बस्न बाध्य भएँ । एकबाट निकालेर अर्कोमा तिर्नुपर्ने बाध्यता नै थियो । आत्महत्या गर तेरो ऋण मिनाहा हुन्छ भन्थे । सामाजिक रुपमै व्यइज्जत गरिने डर थियो’, उनले बताइन् । यी मध्ये तीन वटा संस्था उनले छोडिसकेकी थिइन् । भएका आफ्ना गरगहना बेचेर तीन वटाको ऋण तिरेको उनले बताइन् ।

लघुबित्तका कारणले उच्च शिक्षाबाट छोरी बञ्चित हुनुपरेको उनी सुनाउँछिन् । ‘सिलाइबुनाइबाट मैले दिनमा सात देखि आठ सय आम्दानी गर्दथेँ । कुनै अप्ठ्यारो स्थिति नपरे यसबाट मैले महिनाको किस्ता पु¥याउँथे । तर, ऋण असुल्न आयआर्जनको स्रोतमा प्रहार गर्दा ऋण तिर्न कठिन स्थिति र्सिजना भयो । झन् ऋणमाथि ऋण लाग्यो । यही ऋण तिर्ने चक्करमा १७ हजार माडी क्याम्पसलाई तिर्न नसक्दा ब्याच्लर पढ्दै गरेको छोरीलाई विद्यालयले परीक्षा नै दिन दिएन, उनले पीडा व्यक्त गरिन् ।

निर्धनमा अब एक लाख ४५ हजार ऋण तिर्न बाँकी रहेको निर्धक्क उनले सुनाइन् । साथै उनले आरम्भ लघुबित्तमा ६० हजार, साधनामा ४५ हजार, एनएमबीमा ६० हजार र छिमेकीमा केही ऋण रहेको बताइन् ।

सन्तु परियारको पनि पीडा उस्तै

स्वर्गीय देउरानीको ऋण लघुबित्तले मिनाह गर्नुपर्नेमा दिनहुँ घरमा आएर तनाब दिने गरेको माडी–५ राधापुरकी सन्तु परियारले बताइन् । उनले भनिन्, ‘नेष्टो लघुवित्तबाट उहाँले एक लाख १५ हजार जति ऋण निकाल्नु भएको रैछ । ब्लड क्यान्सरले गर्दा जति खर्च गरे पनि बचाउन सकिएन । तपाइँको बिमा हुन्छ । तलमाथि केहि भइहाले ऋण मिनाहा हुन्छ भन्ने लघुबित्तका सरहरु ऋण तिर्नै पर्छ भन्छन् ।’ संस्थाको नियम अनुसार मृतक ऋणीको ऋण मिनाह हुन्छ भन्ने अडान लिएपछि भने घरमा आउन छोडेको उनले बताइन् ।

परियार स्वयं पनि लघुबित्तबाट मारमा परेको बताउँछिन् । ‘कुखुरा नै पालन गरम् भने पनि ४५ दिन नहुँदासम्म बेच्न मिल्दैन । बाख्रा–खसी वर्ष दिन नभई बेच्न सकिदैन । हामीले २८ दिन भित्रमै जहाँबाट भए पनि किस्ता बुझाउनै पर्छ । अहिले छैन भन्दा मान्नु हुन्न । घरमा केके छ भन्दै खोजतलास गर्नु हुन्छ । जसका लागि म तीन महिना लुकेर बस्नु प¥यो’, उनले अनुभव सुनाइन् ।

परियारले नेष्टोबाट एक लाख २० हजार ऋण लिएकी थिइन् । लघुबित्तले व्यवसाय गर्न सहयोग पूग्ने सपना देखाएर ऋणको भारी मात्र बोकाएको उनको भनाइ छ । भोगाई फरक भए पनि पीडा धादिङ गजुरी गाउँपालिकाकी गीता मगरको पनि उस्तै छ । चितवनमा लघुबित्त पीडितहरुको आन्दोलनमा भेटिएकी उनको पीडा माडीका परियार र महतोसँग मिल्दोजुल्दो छ । लघुबित्त संस्था सिभिल फाइनान्सले ६ महिनासम्म राहदानी जफत गरेर राखिदिएको मगरले सुनाइन् । उनले भनिन्, ‘ऋण तिर्न गारो भएपछि विदेश जाने तरखरमा थिएँ । सो क्रममा मेरो राहदानी ६ महिनासम्म लुकाएर राखिदियो । म विदेश जान पाइन ।’

लघुवित्तले मानसिक तनावसँगै आत्महत्या गर्न प्रेरित गर्ने गरेको उनले गुनासो गरिन् । ‘जबरजस्ती संस्थामा बस्न र ऋण खान लगाउँछन् । एक लाख ऋण लिए १० हजार काटेर ९० हजार हातमा दिए । लिएको ऋणको १२ महिनासम्म किस्ता तिर्छौ । कुनै महिना पैसा छैन केही समय कुरिदिनु भन्दा समय दिँदैनन् । पकाउने भाडा समेत लिएर गइदिए । तिर्न नसक्ने भएपछि किन बाच्नु प¥यो आत्महत्या गर्दिनुस् तपाइँहरुको ऋण मिनाह हुन्छसम्म संस्थाले भन्यो’, उनले दुःखेसो पोखिन् ।

लघुबित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालले देशव्यापी आन्दोलन थालेपछि भने संस्थाका कर्मचारीहरु घर–घरमा आउन छोडेको उनीहरुको भनाइ छ । यसै आन्दोलनमा होमिएकी भरतपुर महनगरपालिका–७ की धनकुमारी विकले चक्रवृत्ति ब्याजदरबाट लघुवित्तहरुले महिलाहरुको शोषण गरिरहेको आरोप लगाइन् । उनले भनिन्, ‘सस्तोमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले सर्वसाधारण नागरिकलाई महंगो ब्याज तिर्न बाध्य पारेको छ । ब्याजदर चक्रवृत्तिबाट लघुबित्त संस्थाहरुले हाम्रो शोषण गरिरहेको छ । सेवा सुविधाको नाममा रकम काट्छ । कर्जा बचतमा पनि ब्याज तिर्नुपर्छ । हाम्रो हातमा नपरेको धनको समेत ब्याज हामीले तिरेका छौँ । विभिन्न नाममा १० प्रतिशत भन्दा बढी ब्याज उठाइरहेको छ ।’
प्रलोभन देखाएर महिलाहरुलाई लुट्ने काम गरिएको उनको भनाइ छ । ‘गरिब हुनुहुन्छ भनेको समयमा ऋण कसैले पत्याउँदैन दिदीबहिनी भन्दै आउछन् । व्यवसाय गर्न पैसा निकाल केही गर भन्छन् । ऋण ननिकाली सुख पाइँदैन । आम्दानी सुको भएको छैन महिना दिन नपुग्दै खाउला जस्तो स्वर निकाल्छन । केही समय है सर भन्न पाइँदैन घरबार बिहीन बनाउँछन् । गरिब निवारण त कुन्नि भएको सम्पति शोषण गर्ने काम भइरहेको छ, उनले बताइन् ।

संघर्ष समिति गण्डकी प्रदेश संयोजक नर्बदा शाहाले लघुवित्तले ३० वर्ष देखि महिलाहरुको शोषण गर्दै आएको पत्ता लागेपछि आन्दोलन गरिरहेको बताइन् । ‘ग्रामीण क्षेत्रमा जाने, महिलाहरुलाई संगठित गरी ऋण दिने । राष्ट्र बैंकको निर्देशिका विपरित १० प्रतिशत भन्दा बढी ब्याज लगाउने । चक्रवृति ब्याज लगाउने गरेको ३० वर्ष पछि मात्र हामी महिलाहरुले थाहा पायौं ।’ लघुवित्तमा बसेका महिलाहरुले धेरै आत्महत्या गरे पछि लघुवित्तको शोषणको विषयमा ज्ञात भएको उनले बताइन् ।

संघर्ष समिति चितवन संयोजक सुधा पाठकले जिल्लामा सबै भन्दा बढी माडी नगरपालिकाका महिलाहरु लघुबित्तबाट पीडित भएको बताइन् । उनले भनिन्, ‘हामी तथ्याङ्क संकलनमा छौं अहिलेसम्म करिब एक हजार छन् । त्यसमा पनि आधा भन्दा बढी माडीका महिलाहरु रहेका छन् ।’
माडी ग्रामीणसँगै शिक्षाको क्षेत्रमा अझै कमजोर रहेकाले यहाँका महिला बढी शोषणमा परेको उनको भनाइ छ । लघुबित्त संस्था खारेज, ऋण मिनाह नहुँदासम्म संघर्ष समिति आन्दोलनमा रहने उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>